झापा,साउन १ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबसँग सम्झौता गरेकी छन्।

अस्ट्रेलियाको निन्जा ए–लिग खेल्न साम्बा वेलिंगटन फिनिक्स फुटबल क्लबमा अनुबन्ध भएकी हुन् ।
क्लबले साम्बालाई अनुबन्ध गर्न पाउनु टोलीका लागि महत्त्वपूर्ण कदम भएको जनाएको छ।
साम्बाले यसअघि फ्रेन्च क्लब एन अभेन्ट गुइनगाम्पबाट खेल्दै आएकी थिइन्। युरोपको शीर्ष लिगमा खेलेर गोल गर्ने पहिलो नेपाली खेलाडीको इतिहास उनले बनाएकी छन्।
साम्बाले सामाजिक सञ्जालमा भनेकी छन्,‘प्रिय एन अभेन्ट गुइनगाम्प परिवार, हामीले पछिल्लो दुई वर्ष बिताएको अद्भुत यात्राको लागि धेरै धन्यवाद।
हामीले यात्रा दौरान गरेको प्रगतिमा मलाई सदैव गर्व रहनेछ र यसको अर्थ मेरो करिअरमा विशाल रहनेछ।
हामी दुवै नयाँ सुरुवातको अलग हुने समय आएको छ। तर क्लब र समर्थकहरूले मलाई दिएको मायाका लागि म सधैँ आभारी रहनेछु। जहाँ भएपनि मेरो समर्थन क्लबलाई रहनेछ।’
साम्बासँग इजरायल, भारत, माल्दिभ्सका लिग खेलेको पनि अनुभव छ।