झापा,साउन १ । बहुमूल्य धातु खरिदमा कडाइ हुने भएको छ ।

आन्तरिक राजश्व विभागले सुन चाँदी लगायत धातु तथा बहुमूल्य कारोबार गर्ने कम्पनीका लागि ग्राहकको पहिचान कायम गर्नु पर्नेगरी यस्तो व्यवस्था गरेको हो ।
विभागले सम्पत्ति शुद्धीकरण आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा आन्तरिक राजस्व विभागबाट बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायी (सूचक संस्था) का लागि निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
अब कुनै पनि ग्राहक आउने बित्तिकै सुनचाँदी व्यवसायीले उनीहरूको जोखिम मूल्याङ्कन गर्नुपर्छ र यसको अभिलेख समेत राख्नुपर्छ । त्यस्तो अभिलेख विभागले मागेको जुनसुकै अवस्थामा पनि उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ ।
कुनै ग्राहक उच्च देखिएमा त्यस्तो ग्राहकको वृहत् ग्राहक पहिचान फाराम भर्न लगाउनुपर्ने व्यवस्था समेत गरिएको छ ।
त्यस्तै, यस्ता संस्थाको कर्मचारीमार्फत हुनसक्ने शङ्कास्पद कारोबार नियन्त्रण गर्न आन्तरिक नीति तथा कार्यविधि बनाउनुपर्ने व्यवस्था समेत गरिएको छ । यस अन्तर्गत कर्मचारीको आन्तरिक कार्य विभाजन प्रस्ट पार्नुपर्ने, जोखिम व्यवस्थापनको आधार र पद्धति निर्माण गर्ने, ग्राहकको विवरण पहिचान तथा अद्यावधि गर्ने र विभाग तथा अन्य निकायले दिएका निर्देशन कार्यान्वयनको व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ ।
विभागले दिएको निर्देशनमा अब सुनचाँदी तथा धातुजन्य व्यवसायीले व्यवसायिक सम्बन्ध स्थापना गर्ने जुनसुकै निकायको समेत पहिचान गर्नुपर्छ । त्यस्तै, एकैपटक वा पटक पटक गरी १० लाख वा सोभन्दा धेरैको खरिद गर्ने ग्राहकको पनि केवाईसी भर्नुपर्छ ।
यदि कुनै ग्राहकले पहिले दिएको जानकारीमा शङ्का लागेमा भने तत्काल पुनः केवाईसी भर्न लगाउन सक्ने व्यवस्था समेत गरिएको छ । उच्च जोखिम रहेका ग्राहकका हकमा प्रत्येक ६÷६ महिनामा केवाईसी अपडेट गर्नुपर्ने व्यवस्था गरिएको छ ।
आर्थिक वा कानुनी उद्देश्य नदेखिने, सम्पत्ति शुद्धीकरणसम्बन्धी संस्थाको कालोसूची वा खैरोसूचीमा परेका मुलुकका नागरिकसँग कारोबार गर्दा थप ध्यान दिनुपर्ने व्यवस्था गरिएको छ ।
विभागले दिएको उक्त निर्देशन कार्यान्वयन नगर्ने व्यवसायीलाई १ करोडसम्मको जरिवाना देखि संस्था खारेजीसम्मको कारबाही गर्नसक्ने विभागले व्यवस्था गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्