झापा,साउन २ । उच्च अदालतका न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्।

बिहीबार न्यायाधीश लम्सालले सर्वोच्च अदालत पुगेर राजीनामा दिएका हुन्। सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलले यसको पुष्टि गरेका छन्।
उनी उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा कार्यरत थिए। २०८० सालमा उच्च अदालतको न्यायाधीश नियुक्त भएका लम्सालको उमेर हदले अझै एक वर्ष कार्यकाल बाँकी थियो।
उच्च अदालतका न्यायाधीशले ६३ वर्षको उमेरसम्म सेवामा रही काम गर्न पाउने थिए ।
उनले आफ्नो स्वास्थ्य र घरायसी अवस्थाका कारण राजीनामा दिएको बताए। न्यायाधीश लम्सालले भने, ‘स्वास्थ्य अवस्थाका कारण घरैमा बस्नुपर्ने भयो। ३७ वर्ष न्याय सेवामा बिताइसकियो। अब स्वतन्त्र जीवन जिउँछु।’
उनको राजीनामा सँगै अब उच्च अदालतमा २७ न्यायाधीश पद रिक्त भएका छन्। यीमध्ये २ मुख्य न्यायाधीशका पद छन्।
उनी एक वर्षपछि उमेर हदका कारण अवकाशमा जाने थिए। त्यसअगावै स्वास्थ्य अवस्थाको कारणले राजीनामा दिएका हुन्।