झापा, साउन २ । झापाको बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

स्कुटर चालक कचनकवल ३ डाकुपारा बस्ने ६० वर्षीय श्रीप्रसाद राजवंशी र उनका ७ वर्षीय नाति आयुष राजवंशीसंगै बुहारी २७ वर्षीया उर्मिला राजवंशीको पनि मृत्यु भएको हो । आज दिउँसो १.३५ बजे उर्मिलाको बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

गत असार २५ गते दिउँसो ३.४० बजे बाह्रदशी गाउँपालिका १ खयरबारीस्थित भित्री सडकखण्डमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकापसमा जुधेका थिए ।

सो दुर्घटनामा परी सोही दिन स्कुटर चालक कचनकवल ३ डाकुपारा बस्ने ६० वर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालक भारत जिल्ला किशनगंज डिघलबैक थाना करलाबारी –१४ बस्ने २७ वर्षीय सुरज टुडूको मृत्यु भएको थियो ।

सोही राति श्रीप्रसादका नाति ७ वर्षीय आयुषको उपचारका क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको थियो भने मृतक श्रीप्रसादकी बुहारी उर्मिलाको भने बीएण्डसीमै उपचार भइरहेको थियो । आज उनको मृत्यु भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्