झापा, साउन ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले ओली सरकारमा कसले कति कमाउने भनेर होडवाजी चलिरहेको दावी गरेका छन् ।

केपी ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरु एकपछि अर्को गर्दै भ्रष्टाचारमा मुछिन थालेको घटनाप्रति इंगित गर्दै अध्यक्ष लिङ्देनले त्यस्तो दावी गरेका हुन् । राप्रपा मेचीनगरको पाँचौ नगर अधिवेशनको उद्घाटन गर्दै लिङ्देनले सरकारले जनतालाई बिदेशमा बेचेर खाने, महङ्गी बढाएर खाने,शरणार्थी बनाएर बिदेशमा पठाएर खाने, भिजिट भिसामा पठाएर पनि खाने गरेको भन्दै जहाँ र जसरी भएपनि कमाउने प्रवृति हावी भएको दावी गरे । राप्रपा एक मात्र पार्टी जसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएर भ्रष्टाचारविरुद्ध ज्ञापनपत्र बुझाएर भ्रष्टाचारविरुद्ध औंला उठाएको उनले बताए । राप्रपाबाहेकका सबै पार्टी कुनै पनि फायल खोल्ने भनेपछि डरले काँप्ने गरेको उनको भनाई छ ।

प्रतिनिधि सभा सदस्यसमेत रहेका लिङ्देनले पार्टीभित्र षडयन्त्र गर्नेहरूलाई ‘बाटो तताउन’ चेतावनी दिए । केही दिनअघि पार्टीका चार नेताले उनीविरुद्ध निकालेको प्रेस विज्ञप्तिप्रति लक्षित गदैं उनले यस्तो चेतावनी दिएका हुन् । अध्यक्ष लिङ्देनले पार्टीका केही नेताहरुलाई अनुशासनको कारवाही गरेपछि पार्टीमा विवाद चुलिएको छ ।

वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्रीद्वय डा. धवलशमसेर राणा र कुन्ती शाहीले विज्ञप्ति निकालेर अध्यक्ष लिङ्देनका कारणले पार्टीमा अपूरणीय क्षति पुगेको आरोप लगाएका थिए । लिङ्देनले विचार मिल्ने भए र पार्टीको नेतृत्व चाहने भए आगामी महाधिवेशनसम्म पर्खन आग्रह गर्दै नभए अर्कै बाटो लिएर जान कडा चेतावनी दिएपछि कार्यक्रम स्थलमा सहभागीहरुले गडगडाहट तालीले नेता लिङ्देनको भनाईलाई समर्थन गरेका थिए ।

‘विचार मिल्छ तर राजेन्द्र लिङ्देन मन परेन भने महाधिवेशन पर्खनुपर्छ। तर विचार नै मिलेन भने चाहिँ बाटो तताउनु पर्छ’ उनले थपे । अध्यक्ष लिङ्देनले पार्टीको अनुशासन र विधिमा नबस्नेहरुका लागि बाटो खुला रहेको र बाटो लाग्दा हुने विचार राखे ।
नगर अधिवेशनको उद्घाटन सत्रमा पार्टीका केन्द्रीय सदस्यहरु खुश्बु ओली, नरेन्द्रकुमार खड्का, धर्म साँस्कृतिक संगठन कोशी प्रदेशका अध्यक्ष ध्रुबकुमार शिवाकोटी, झापा अध्यक्ष केशवकुमार ओझालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर राप्रपामा प्रवेश गरेकाहरुलाई खादा, अविर र टीका लगाएर स्वागत गरिएको थियो । त्यस्तै विभिन्न समयमा पार्टीलाई योगदान गर्नेहरु सम्मानित भएका छन् । यसरी सम्मानित हुनेहरुमा पार्टीका संस्थापक स्वर्गीय मीनबहादुर खड्काकी श्रीमती जानुका खड्का, जमुनादेवी काफ्ले, कुवेरमान राई, बीरबहादुर कटुवाल, रुक्मणि चौलागाईँ, नारायण न्यौपाने, पदमबहादुर कटुवाल, इन्द्रमणि प्रसाई र सूर्यबहादुर राई छन् ।

राप्रपा मेचीनगरकी अध्यक्ष एवम् कोशी प्रदेश सभा सदस्य सविना बजगाईले अध्यक्षतासहित चारवर्षे कार्यकालमा गरेका प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । राप्रपा नेता अशोक सुब्बाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विशालकृष्ण बाँस्तोलाले गरेका थिए ।

अधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले अध्यक्षमा चन्द्र निरौलालाई सर्वसम्मत चयन गरेको हो ।

युवा नेता निरौला यसअघि दुई पटक पार्टीको नगर सचिव भइसकेका छन् । निरौलाको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति चयन भएको हो ।

जसको सदस्यहरुमा सूर्यबहादुर राई, राजननाथ वेडारी, कृष्णबहादुर खड्का, चन्द्रप्रसाद सुवेदी, पर्शुराम पराजुली, गिरीराज पौडेल, शारदा पराजुली, मनिता गिरी, धनमाया गौतम, अस्मिता खरेल, सन्तोष भट्टराई रहेका छन् ।

त्यस्तै होमनाथ बराल, भक्तिप्रसाद गड्तौला, लक्ष्मणकुमार लिम्बू, देवीमाया शिवाकोटी, बासुदेव उप्रेती, कुसुम कटुवाल, गोविन्द न्यौपाने, खड्ग श्रेष्ठ र इन्द्रबहादुर थापा सदस्यमा चयन भएका छन् ।

त्यस्तै राप्रपा झापा निर्वाचन क्षेत्र नं. ३ प्रदेश ’क’ र ’ख’ को संयुक्त दोस्रो अधिवेशन सम्पन्न भएको छ । हल्दिबारी –४ स्थित पाथीभरा सामुदायिक भवनको सभाहलमा राप्रपा झापा क्षेत्र नं. ३ का कार्यवाहक अध्यक्ष तुलसा आचार्यको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष लिङदेनको प्रमुख आतिथ्यतामा पार्टीका केन्द्रीय सदस्य अन्जार आलम, कोशी प्रदेश सभा सदस्य निमसरी राजवंशी, झापा जिल्ला अध्यक्ष केशबप्रसाद ओझालगायतको उपस्थितिमा संयुक्त दोस्रो अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनबाट राप्रपा झापा क्षेत्र नं. ३ (क)को अध्यक्षमा पूर्णबहादुर राना चयन भएका छन् । जसको उपाध्यक्षहरुमा पृथ्वीनारायण कार्की ,रामविर सिंह राजवंशी तथा सदस्यहरुमा देबी लोवा,महेशलाल गणेश ,राधिका गणेशलगायत २१ सदस्यीय रहेको छ ।

त्यस्तै राप्रपा झापा क्षेत्र नं. ३ (ख)को अध्यक्षमा रबिन्द्रप्रसाद लिङ्देन चयन भएका छन् । जसको उपाध्यक्षहरुमा पूर्णबहादुर थापा,कल्पना राना , दीर्घराज आचार्य,सचिव जनक तामाङ तथा सदस्यहरुमा टीकादेबी राउत,देबीबहादुर थापा ,सुदिपकुमार गणेशलगायत २१ जना रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्