बिर्तामोड , साउन ३ । लागूऔषध कारोेबारमा संलग्न भएको अभियोग लागेपछि नेकपा एमालेले नगर कमिटी सदस्य भानुभक्त खरेललाई निलम्बन गरेको छ ।

एमाले बिर्तामोड नगर कमिटीको आज सम्पन्न बैठकले खरेललाई अनुसन्धान नसकिएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो । नेकपा एमाले नगर कमिटी अध्यक्ष सुवास भट्टराईद्वारा जारी विज्ञप्तिमा गलत क्रियाकलापमा संलग्न जो कोहीलाई कारवाही हुनु पर्छ भन्ने मान्यता पार्टीको रहेकाले उनलाई निलम्वन गरिएको उल्लेख छ ।

खरेल एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ झापाका उपाध्यक्षसमेत हुन् । गत फागुन २४ गते भएको अधिवेशनबाट उनी उपाध्यक्ष चुनिएका थिए । राष्ट्रिय स्वास्थ्यकर्मी संघले पनि उनलाई निलम्बन गर्दैछ । संघको पदाधिकारीको बैठक बसी केही दिनभित्रै उनलाई निलम्बनको कार्वाही गरिने जिल्ला अध्यक्ष भरत खतिवडाले बताए ।

‘कार्वाही गर्ने तयारी भइरहेको छ ’ उनले भने ,‘ एक–दुई दिनभित्र निलम्बन गर्ने निर्णय आउँछ ।’ प्रहरीले खरेलले सञ्चालन गरेको सनलाइट फर्माको गोदाममा ठूलो परिमाणमा लागूऔषध फेला पारेको थियो । घटनालगत्तै खरेल फरार छन् । उनको मोबाइल स्वीचअफ रहेको छ । खरेलको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्