झापा, साउन ३ । गुणस्तरीय शिक्षाका लागि आकर्षणको केन्द्रविन्दु बनेको झापा बिर्तामोडको न्यूटन्स एजुकेशन एकेडेमीले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको छ ।

नयाँ शैक्षिक सत्रका लागि १५० जना विद्यार्थी भर्ना भएका छन् । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष किशोरकुमार पौडेलले न्यूटन्सको गौरवमय इतिहासको प्रशंसा गर्दै असल विद्यार्थी उत्पादनलाई निरन्तरता दिन आग्रह गरे । दिगो संघर्ष र सकारात्मक सोचले विद्यार्थीहरुले सफलता पाउन सक्ने उनको भनाई थियो ।
न्यूटन्स एजुकेशन एकेडेमीका प्रधानाध्यापक देवेन्द्र हुमागाँईले संस्थापक हरि प्रसाईंले सो विद्यालय केवल व्यक्तिको मात्रै नभएर समाजको हुनेगरी स्थापना गरेको बताउँदै शिक्षामा संवेदनशीलता भएन भने समाज अन्धकारको मार्गमा अघि बढ्ने बताए । उनले सामाजिक रुपान्तरणमा शिक्षाको अहम् भूमिका रहेको धारणा राखे ।
अभिभावक संघका अध्यक्ष नरेश भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा न्यूटन्स एजुकेशन एकेडेमीका कोअर्डिनेटर केवल सापकोटाले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । उनले न्यूटन्स एजुकेशन एकेडेमीले स्कोरका लागि मात्रै आफ्नो सिकाइलाई प्राथमिकता नदिएर विद्यार्थीलाई नैतिकवान बनाउन लागिपरेको बताए । कार्यक्रममा गीतका माध्यमबाट कक्षा ८ की रुवी पाठकले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा त्रिदेव कलेज व्यवस्थापन समितिका अध्यक्ष हरि घिमिरेले स्व. हरि प्रसाईंले शैक्षिक उन्नयनका लागि महत्वपूर्ण योगदान पुर्याएको स्मरण गरे भने नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्यले विद्यार्थीहरुलाई हौसला प्रदान गर्दै समयको ब्यवस्थापन गर्न आवश्यक रहेको बताइन् । कार्यक्रमको सञ्चालन न्यूटन्स एजुकेशन एकेडेमीकी शिक्षक पवित्रा पौडेलले गरेकी थिइन् ।