झापा,साउन ४ । विश्वकै उत्कृष्ट पदयात्रा गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मा गत आर्थिक वर्ष पौने ३ लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

एक वर्ष अवधिमा भएको भ्रमणका आधारमा यो संख्या हालसम्मकै सर्वाधिक हो ।
आर्थिक वर्ष २०८१-०८२ मा १७२ देशका २ लाख ७८ हजार ११३ जना पर्यटकले भ्रमण गरेको तथ्याङ्क एक्यापसँग छ । आर्थिक वर्ष २०८०-०८१ को तुलनामा यो संख्या २५ प्रतिशत बढी हो । अघिल्लो वर्ष २ लाख २२ हजार १८० पर्यटकले यो क्षेत्र घुमेका थिए ।
आर्थिक वर्ष २०७९-०८० को यही अवधिमा १ लाख ७२ हजार १०८ जना पर्यटक एक्याप पुगेका थिए । कोभिड–१९ महामारीपछि विदेशी पर्यटकको संख्या उल्लेख्य बढेको एक्यापले सङ्कलन गरेको तथ्याङ्कले देखाउँछ ।
एक्यापका आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार चालु आर्थिक वर्षमा पर्यटकको संख्यामा उत्साहजनक वृद्धि देखिएको हो । ‘गत वर्षको तुलनामा विदेशी पर्यटकको संख्यामा २५ प्रतिशतले वृद्धि भई करिब २ लाख ७८ हजार पुगेको छ,’ उनले भने, ‘यो वृद्धिले अन्नपूर्ण क्षेत्र विश्व पर्यटकको रोजाइमा अझै पनि अब्बल छ भन्ने देखाउँछ ।’
तथ्याङ्कअनुसार भित्रिएका पर्यटकमध्ये सार्क मुलुक, विशेषगरी भारतबाट आउनेको संख्या अत्यधिक बढेको छ । यसरी भ्रमणमा आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतका छन् । गत वर्ष १ लाख ५३ हजार ८६५ भारतीय पर्यटकले एक्याप भ्रमण गरेका हुन् ।
दोस्रोमा चीनका पर्यटक बढी आएका छन् । १० हजार ७०९ जना चिनियाँले घुम्दा ९ हजार ५३७ जना अमेरिकी पर्यटक यो क्षेत्र घुम्न आइपुगेका छन् । पछिल्लो आठ वर्षको तथ्याङ्क हेर्दा भारतीय पर्यटक मुक्तिनाथ दर्शनका लागि र अन्य मुलुकका पर्यटक पदयात्राका लागि आउने गरेको देखिन्छ ।
आर्थिक वर्ष २०७८-०८९ सम्म भारतीय पर्यटकभन्दा तेस्रो देशका पर्यटक बढी आउने गरेकोमा त्यसयता भारतीय पर्यटकको संख्या उल्लेख्य बढेको देखिन्छ । यसमा खासगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शनले प्रभाव पारेको एक्यापको दाबी छ । पदयात्राका लागि आउने पर्यटकको रोजाइमा मुस्ताङसँगै अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल र अन्नपूर्ण सर्किटको पदमार्ग पर्छन् ।