झापा, साउन ४ । झापाको बिर्तामोड ९ मा आँगनमा पार्किङ गरी राखेको अटोमा अचानक आगलागी भएको छ ।

गएराति १० बजे बिर्तामोड वडा न.९ नारायण कृष्ण टोल बस्ने लोकमाया खरेलको नाममा रहेको प्र १–०१–००१ ह ७९०३ न.को अटो आफ्नै घर आँगनमा पार्किङ गरी राखेको अवस्थामा अचानक आगलागी भएको हो ।
घटनाबारे अस्थायी प्रहरी पोष्ट गरामनीमा जानकारी गराउनासाथ प्रहरी सहायक निरीक्षक भुपेन्द्र कार्कीको कमाण्डमा टोली खटिएर स्थानीय र प्रहरीको सहयोगमा राति १०.५० बजे उक्त आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।
उक्त आगलागीबाट इन्जिन र पछाडिको भाग पूर्णरुपमा जलेर नष्ट हुँदा दुई लाख पचास हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।