झापा, साउन ४ । झापाको बाह्रदशीमा अर्को मोटरसाइकलले ठक्कर दिँदा स्कुटीमा सवार कचनकवलका एकै परिवारका तीनजनाले ज्यान गुमाएपनि उपचार खर्चसंगै क्षतिपूर्ति पनि पाएनन् ।

गत असार २५ गते दिउँसो ३.४० बजे बाह्रदशी गाउँपालिका १ खयरबारीस्थित भित्री सडकखण्डमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको भारतीय मोटरसाइकल मोटरसाइकलले बिपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटरलाई गलत साइडमा गएर ठक्कर दिएको थियो ।
सो दुर्घटनामा स्कुटी चालक कचनकवल ३ डाकुपारा बस्ने ६० वर्षीय श्रीप्रसाद राजवंशी ,उनका ७ वर्षीय नाति आयुष राजवंशी र बुहारी २७ वर्षीया उर्मिला राजवंशीको ज्यान गएको हो । दुर्घटनामा मोटरसाइकल चालक भारत जिल्ला किशनगंज डिघलबैक थाना करलाबारी –१४ बस्ने २७ वर्षीय सुरज टुडूको पनि मृत्यु भएको थियो । स्कुटी चालक राजवंशी र मोटरसाइकल चालक टुडूको दुर्घटना भएकै दिन मृत्यु भएको थियो भने स्कुटीमा सवार राजवंशीकी बुहारी उर्मिला र नाति आयुषको उपचारका क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको हो ।
दुवैको उपचार खर्च ७ लाख रुपैयाँ उठेको आफन्त सुरेश राजवंशीले बताए । उनले ७ लाखमा २ लाख छुट गरेर ५ लाख रुपैयाँ तिरेर उर्मिलाको शव अस्पतालबाट घर लगिएको जानकारी दिए ।
अपराधीको मृत्युसंगै अपराध सकिन्छ भन्ने कानुनी मान्यता रहेकाले स्कुटीलाई ठक्कर दिने मोटरसाइकल चालक भारतीय नागरिकको मृत्यु भएपछि दावी गर्ने ठाउँ नदेखिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले बताए ।
क्षतिपूर्ति पाउने आधार नरहेपनि पीडित परिवारलाई राहतको व्यवस्था मिलाउने पहल भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिएका छन् ।