झापा, साउन ४ । सरकारले स्वास्थ्य बिमा बोर्डले तोकेको प्रथम सेवा प्रदायकबाट रेफरल पुर्जा अनिवार्य लिएर आउनुपर्ने व्यवस्था गरेपछि आँखा अस्पतालको भीड बिर्तामोड नगर अस्पतालमा लाग्ने गरेको छ ।

उपचारका लागि ठूलो संख्यामा मेची आँखा अस्पताल र दृष्टि आँखा अस्पतालमा आउने बिमित बिरामीहरु रेफरल पुर्जा लिनका लागि नगर अस्पताल पुग्ने गरेका छन् । अत्यधिक भीडका कारण कतिपय विरामीहरु रेफरल पुर्जा लिन नपाई घर फर्किएका छन् । आइतवार बिहानैदेखि नगर अस्पतालमा रेफरल पुर्जा लिनेहरुको भीड लागेको थियो । बिहान ७ देखि दिउँसो १ बजेसम्म रेफर र नगर अस्पतालमै चेकजाँच गराउनका लागि ६५० जनाले टोकन लिएका थिए । त्यसमध्ये १५० जनाले रेफरल पुर्जा लिएर आँखा अस्पताल गएको नगर अस्पतालका एक कर्मचारीले बताए ।


स्वास्थ्य बिमा बोर्डले मेची आँखा अस्पताललाई रेफरल सेन्टरको रुपमा कायम गरेको छ । यसै आर्थिक वर्षको साउन १ गतेदेखि सो अस्पतालमा आँखासम्बन्धी जाँच, उपचार तथा शल्यक्रियाका लागि बिमित बिरामीहरुले स्वास्थ्य बिमा बोर्डले तोकेको प्रथम सेवा प्रदायकबाट प्राप्त गरिएको रेफरल अर्थात प्रेषण पुर्जा अनिवार्य लिएर आउनुपर्ने व्यवस्था गरिएको हो । मेची आँखा अस्पताल नजिक बिर्तामोड नगर अस्पताल रहेकाले धेरै विरामीहरु त्यही नै रेफरल पुर्जा लिन जाने गरेका छन् । केही दिनअघि मेची आँखा अस्पतालका प्रशासन प्रमुख आलोक श्रेष्ठले एक सूचना जारी गरी साउन १ गते वा सोभन्दा पछाडी आँखा शल्यक्रियाको समय लिएका सम्पूर्ण स्वास्थ्य बिमाअन्तर्गतका बिमित बिरामीहरुले प्रथम सेवा बिन्दुबाट अनिवार्य प्रेषण पुर्जा लिएर आउन सूचित गर्दै अन्यथा बिमामार्फत शल्यक्रिया सेवा प्रदान गर्न अस्पताल असमर्थ रहने जानकारी गराएका थिए ।

मेची आँखा अस्पतालले प्रेषण पुर्जाबिना विमित विरामीहरुको उपचार गर्न बन्द गरेको छ । प्रथम सेवा बिन्दु कायम गरिएको नगर अस्पतालबाट छिटो छरितो रेफरल पुर्जा दिने व्यवस्था गरिनु पर्ने मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ बताउँछन् । रेफरल पुर्जा लिँदालिँदै विरामी ढल्ने अवस्था आउन दिनु नहुने उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्