झापा, साउन ४ । इलाममा पहिरो झरेर सिंगो गाउँ नै जोखिममा परेको छ ।

आज दिउँसो ३ः३० बजे इलाम फाकफोकथुम गाउँपालिका १ घुरबिसे पञ्चमी ठिङ्गेपुर मझुवामा पहिरो झरेर गाउँ नै जोखिममा परेको हो । स्थानीय पोमानाथ पोखरेलको तीन तले पक्की घरको मुनिबाट पहिरो झरेको छ भने टिका सम्बाहाम्फेको तीन तले पक्की घर मुनिबाट पहिरो गएको छ ।
त्यस्तै सरलादेवी लिङदेन लिम्बूको चार तले पक्की घर मुनिबाट पहिरो झरेको छ । जित निरौलाको बारीमा लगाएको अन्दाजी २ रोपनी अलैचीबारी माथिबाट आएको पहिरोले पुरिएको छ । बिरेन्द्रबहादुर तामाङको टिनको छानो भएको घरनजिकै पहिरो गएको छ । हरिप्रसाद कटेलको टिनको छानो भएको एकतले गाईगोठमा रहेको घाँस काट्ने मेसिन पुरिएको छ । डम्बरबहादुर धमलाको टिनको छानो, टिनको बेरा भएको एकतले आरन घर पुरिएको छ ।
त्यस्तै गणेशबहादुर लिम्बूको घर माथिबाट पहिरो झरेर घर सामान्य पुरेको छ । छबिलाल लिम्बूको टिनको छानो, टिनको बेरा भएको एक तले २ कोठे घर माथिबाट पहिरो झरी घरमा सामान्य क्षति भएको छ ।
प्रहरी चौकी आमचौक इलाममा टेलिफोनमार्फत जानकारी गराउनसाथ २ जनाको प्रहरी टोली खटिएर बुझ्दा ६ वटा घरमा बसोबास गर्न मिल्ने देखिएको छ । पुनः वर्षा भएमा घरहरु पहिरोको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
त्यस्तै अबिरल वर्षाका कारण इलाम नगरपालिका ५ मान्द्रणी वस्ने पूर्ण शंकरको घर माथिबाट पहिरो झरी टिनको छानो,ढुङगा, माटो र काठले बनेको एक तले घरको पूर्वपट्टिको कोठा पुरिएर क्षति पुगेको छ ।
त्यस्तै सन्दकपुर ३ सुलबुङमा रहेको माईखोला पुल छेउमा माथिबाट पहिरो झरी जमुनाबाट बिब्ल्याटे जोडने भित्री कच्ची सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएको छ ।