झापा,साउन ५ । सशस्त्र प्रहरी बल नेपाल नम्बर एक गुल्म हेड क्वाटर कञ्चनजङ्घा ताप्लेजुङमा नवनिर्मित विपद् व्यवस्थापन डिसास्टर मेनेजमेन्ट डिएम स्टोर भवनको उद्घाटन गरिएको छ ।

ताप्लेजुङमा बाढी पहिरोबाट हुने जोखिम न्यूनीकरण गर्नका लागि आवश्यक सामाग्रीको व्यवस्थापन सहित नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।
कुल ८ लाख ६० हजार ७८८ रुपियाँको लागतमा निर्मित भवनको उद्घाटन फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनको प्रमुख आतिथ्यतामा गरिएको छ । जिल्लामा हुने विपद् प्रतिकार्यका लागि चाहिने आवश्यक सामाग्री समेत स्थानीय तह तथा अन्य सङ्घसंस्थाको समन्वयमा खरिद गरि भण्डारण गरिएको गुल्मका गुल्मपति शसस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेश महर्जनले जानकारी दिए । उनका अनुसार भवन निर्माणका लागि फुङलिङ नगरपालिकाको छ लाख रुपियाँ लागत र दुई लाख ७८ हजार ७८८ रुपियाँ बरारको गुल्मको आन्तरिक स्रोत र कामदारमार्फत भवनको निर्माण गरिएको हो ।
विपद् प्रतिकार्यमा आवश्यक पर्ने सामाग्री व्यवस्थापनका लागि पाथीभरा याङवरक गाउँपालिका, मिक्वाखोला गाउँपालिका, पाथीभरा क्षेत्र विकास समिति, डिभिजन वन कार्यालय ताप्लेजुङले सहयोग गरेको गुल्मपति डीएसपी महर्जनको भनाइ छ । गुल्मका अनुसार मिक्वाखोला गाउँपालिकाबाट चेनस मेसिन एक थान र पाथीभरा याङवरक गाउँपालिकाबाट ६४ हजार ८७५ रुपियाँ बराबरको विभिन्न विपद् उद्धारका सामाग्री प्राप्त भएको छ । यस्तै पाथीभरा क्षेत्र विकास समितिबाट दुई लाख नौ हजार ६८१ रुपियाँ र डिभिजन वन कार्यालयबाट एक लाख २१ हजार १० रुपियाँ बराबरको सामाग्री प्राप्त भएको महर्जनको भनाइ छ ।