कचनकवल,साउन ५ । सधैंको वर्ष झैं यस वर्ष पनि कचनकवल गाउँपालिका–१ मागुरमारास्थित भुतेश्वर महादेव मन्दिरमा साउन महिनाको पहिलो सोमवारबाट विशेष मेला सुरु भएको छ। आज बिहानैदेखि भक्तालुहरूले जल चढाउने क्रम सुरु गरेका छन्।


गत असार ३० गतेको सोमवारदेखि चन्द्रमान पात्रोअनुसार साउने सोमवारको व्रत आरम्भ भएको हो। भक्तजनहरू सोमबारको व्रत बस्दै शिवालयमा जल अर्पण गर्न लामबद्ध भएका थिए ।


भुतेश्वर मन्दिरमा २०५६ सालदेखि बोलबम मेला सुरु गरिएको हो। त्यसयता प्रत्येक साउने सोमबार हजारौं भक्तजन यहाँ पूजाआजा र दर्शनका लागि आउने गरेका छन्। समितिका अनुसार, भुतेश्वर शिवालय मन्दिरको स्थापना २०१२ सालमा दुई जना साधुहरूले गरेका थिए। तर डकैतहरूको निरन्तर आक्रमणका कारण ती साधुहरू मन्दिर छोड्न बाध्य भए । पछि स्व. वैद्यनाथ राजवंशीले मन्दिरका लागि १ बिगाहा १६ कट्ठा तथा स्थानीय आर्यघाट व्यवस्थापनका लागि १ बिगाहा गरी कुल २ बिगाहा १६ कट्ठा जमिन दान दिएका थिए।

नेपाल र भारतका श्रद्धालुहरूले भुतेश्वर महादेवमा दर्शन गरी सुनचाँदी तथा बहर गोरु अर्पण गर्ने परम्परा रहिआएको छ। विशेषगरी कोच आदिवासी समुदायले साउन महिनाभर प्रत्येक सोमवार र शिवरात्रीमा यहाँ दर्शन गर्दा मनोकामना पूरा हुने विश्वास राख्दै पूजा आराधना गरेका छन्।

साउन महिनामा सोमवारका दिन विशेष भीड लाग्ने भएकाले मेला व्यवस्थापन समितिले स्वच्छता, सुरक्षा तथा व्यवस्थापनका लागि स्वयंसेवक टोली परिचालन गरेको जनाएको छ। साथै, मन्दिर परिसरमा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिँदै छ । जसले स्थानीय समुदायमा आपसी सम्बन्ध सुदृढ गर्न तथा पर्यटकीय आकर्षण बढाउन सहयोग पुर्याइरहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्