झापा, साउन ५ । ‘सिंघम’ भनेर चिनिएका जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहानलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको सर्वोत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ द मन्थ) घोषित गरेको छ ।

विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको भन्दै प्रहरी निरीक्षक चौहानलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

उनले भद्रपुर नगरपालिका–५ मा चेकजाँचको क्रममा ४७ ग्राम ६९० मिलिग्राम ब्राउनसुगरसहित कार र दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएका थिए भने भद्रपुर नगरपालिका–७ मा ६ राउण्ड गोली फायर गरी २०५ ग्राम ८० मिलिग्राम ब्राउनसुगरसहित २ जना व्यक्तिलाई नियन्त्रणमा लिएका थिए ।

यसैगरी झापा गाउँपालिका–४ मा चेकजाँचको क्रममा साइकलको चक्काभित्र १६७ ग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गर्न सफल भएका थिए ।

झापाको मेचीनगर नगरपालिका ७ काँकरभिट्टा निवासी चौहान ८ वर्षअघि प्रहरी सेवामा प्रवेश गरेका हुन् । उनी विगत ७ महिनादेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी निरीक्षक चौहानलाई कार्यसम्पादनको मूल्यांकन गरेर पुरस्कृत गरेकोमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूले बधाई दिँदै झापाबाट पुरस्कृत हुन पाएकोमा खुशी व्यक्त गरे ।

प्रहरी निरीक्षक चौहानसंगै इलाका प्रहरी कार्यालय रानी (सीमा) मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारीलाई पनि असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्