बिगतमा झापा जिल्लाको कर्णाली भनेर चिनिने कचनकवल गाउँपालिकाले गणतन्त्र प्राप्तिपछि सबै क्षेत्रको विकासमा फड्को मारेको छ। पूर्व, दक्षिण र केहि पश्चिमपट्टिको भूभाग भारतसंग सिमाना जोडिएको यो पालिका क्षेत्रफलको हिसाबले बिर्तामोड, भद्रपुर र दमक नगरपालिकाभन्दा ठुलो रहेको छ ।जसमा लगभग ४० हजार जनसंख्या रहेको छ। स्वास्थ्यको क्षेत्रमा गरेको सुधार र प्रगतिको बारेमा कचनकवल गाउपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीसंग प्रतिदिन दैनिकका लागि कर्ण राजवंशीले गरेको कुराकानीको अंश प्रस्तुत गर्दैछौ ।

स्वास्थ्यकै कुरा गर्दा, हाल तपाईंको स्वास्थ्य स्थिति कस्तो छ?
धन्यवाद, म पूर्णरूपमा सन्चै छु। गाउँपालिकाको सेवा र जनहितमा केन्द्रित रही निरन्तर सक्रियताका साथ काम गरिरहेको छु।

हाल कचनकवल गाउँपालिकामा स्वास्थ्य सेवाको समग्र अवस्था कस्तो देखिन्छ ?
विगत केही वर्षको प्रगतिको आधारमा हेर्दा हाम्रो गाउँपालिकामा स्वास्थ्य सेवा निरन्तर सुधारोन्मुख अवस्थामा रहेको छ। बनियानीस्थित एक मात्र प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै आधारभूत अस्पतालको रूपमा विस्तार गर्ने प्रक्रिया अगाडि बढिरहेको छ। हाल त्यहाँ आधारभूतदेखि प्रारम्भिक विशेष सेवाहरू पनि उपलब्ध गराइएको छ। स्वास्थ्यकर्मीको संख्या, उपकरणको स्तर, औषधि आपूर्ति र सेवा पहुँचलाई थप प्रभावकारी बनाउन हामी निरन्तर प्रयत्नशील छौं।

–के जनताले यी सेवाहरू सहज र सुलभ रूपमा प्राप्त गरिरहेका छन् ?
अवश्य । विगतको तुलनामा अहिले सेवा धेरै सहज र जनमुखी भएको छ। अस्पताल २४ सै घण्टा खुला रहन्छ । आपतकालीन सेवा सञ्चालनमा छ। गर्भवती महिला, सुत्केरी तथा बालबालिकाहरूलाई लक्षित गर्दै निःशुल्क सेवाहरू उपलब्ध छन्। हाम्रो उद्देश्य गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने हो, र त्यसलाई व्यवहारमा उतार्न हामी गम्भीर छौं।

–डिजिटल एक्स–रे सेवा सञ्चालनमा ल्याइएपछि यसको प्रभाव कस्तो देखिएको छ?
हालै अस्पतालमा डिजिटल एक्स–रे मेसिन जडान गरी सेवा सुरु गरिएको छ । जसले सामान्य हाडजोर्नीसम्बन्धी समस्या लगायत विभिन्न रोगहरूको पहिचान गर्न सहज बनाएको छ। हामीले सेवा शुल्क अत्यन्त न्यून निर्धारण गरेका छौं, ताकि आर्थिक रूपमा कमजोर वर्गका नागरिकले समेत यो सेवा लिन सकून्। दक्ष प्राविधिकहरूद्वारा सेवा सञ्चालन भइरहेको छ, जसले सेवाको गुणस्तर सुनिश्चित गर्छ।

–भारतीय नागरिकहरूलाई पनि समान शुल्कमा सेवा उपलब्ध गराइएको छ भन्ने चर्चा छ। यसको पृष्ठभूमि के हो?
हाम्रो पालिका भारतको सीमावर्ती क्षेत्रसँग जोडिएको छ । जहाँका धेरै भारतीय नागरिकहरू पनि पर्याप्त स्वास्थ्य सेवाबाट वञ्चित छन्। मानवता, सहयोग र छिमेकी सम्बन्धलाई ध्यानमा राखी हामीले सबैका लागि समान सेवा दिने नीति अवलम्बन गरेका छौं। यसले दुई देशबीचको सम्बन्ध थप सुदृढ गर्नुका साथै स्वास्थ्य पर्यटनलाई प्रोत्साहन गर्दछ र स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउँछ। सेवा प्रभावकारी भयो भने भारतीय नागरिकको आगमन पनि बढ्नेछ, जसले आम्दानी बढाउन सहयोग पु¥याउनेछ।

–आगामी दिनमा जनस्वास्थ्यको क्षेत्रमा पालिकाले के कस्ता योजना बनाइरहेको छ ?
हामी अस्पतालको प्रसूति सेवा अझ मजबुत बनाउने, विशेषज्ञ चिकित्सकहरूको सेवा विस्तार गर्ने, सञ्चालनमा रहेका प्रयोगशाला सेवा थप व्यवस्थित बनाउँदै विभिन्न परीक्षणहरू गाउँमै गराउने योजनामा छौं। हरेक वडामा न्यूनतम स्वास्थ्य सेवा पुर्याउने, मोबाइल स्वास्थ्य सेवा विस्तार गर्ने, र स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने हाम्रो नीति हो। दीर्घकालीन रूपमा आधुनिक तथा डिजिटल जनस्वास्थ्य प्रणाली विकास गरेर कचनकवललाई ‘स्वस्थ पालिका’ बनाउने हाम्रो लक्ष्य हो।

–१५ शैय्याको आधारभूत अस्पताल सञ्चालन कहिलेदेखि सुरु हुन्छ?
यो योजना पालिकाको अति प्राथमिकता प्राप्त महत्वाकांक्षी योजना हो, जसले जनस्वास्थ्यमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्नेछ। यो कार्य वास्तवमा गत वर्षको पुष महिनाबाट सुरु हुनुपर्ने थियो, तर ठेकेदारको ढिलासुस्ती र भवन हस्तान्तरण प्रक्रिया अधुरो भएका कारण केही ढिलाइ भएको हो। अब भवन हस्तान्तरणको प्रक्रिया पूरा भएसँगै अस्पताल स्वीकृतिको औपचारिक प्रक्रिया अघि बढ्नेछ। हामी आशावादी छौं कि चाँडै अनुमोदन प्राप्त हुनेछ र यसले कचनकवलको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउनेछ।

–तपाईंको कार्यकालमा स्वास्थ्य क्षेत्रमा देखिएको उल्लेखनीय सुधार के–के हुन्?
मेरो कार्यकालमा विशेष गरी विपन्न वर्गका नागरिकलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य बीमा सुविधा सुरु गरिएको छ, जसले अब कसैलाई पनि उपचार अभावमा रहनु पर्ने अवस्था छैन। गर्भवती महिलालाई गर्भ रहनासाथ नै बीमाको व्यवस्था गरिन्छ, जसले सुरक्षित मातृत्व प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेको छ।

त्यस्तै, पहिले पालिकाले सञ्चालन गर्दै आएको औषधि पसलमा वार्षिक लाखौं रुपैयाँ घाटा थियो। अहिले हामीले अपनाएको निःशुल्क, बीमित र सुलभ औषधि वितरण प्रणाली तथा प्रभावकारी प्रयोगशाला व्यवस्थापनबाट उल्टै पालिकालाई वार्षिक औसत ३५ लाख बढी आम्दानी हुन थालेको छ। यो नीति सामाजिक र आर्थिक दुवै दृष्टिकोणबाट सफल सावित भएको छ।

–आगामी दिनमा स्वास्थ्य सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउन थप के योजना छन् ?
हामी विशेषज्ञ सेवाको दायरा विस्तार, प्रयोगशाला तथा एक्स–रे सेवा आधुनिक बनाउने, डिजिटल स्वास्थ्य सेवा प्रणाली सुदृढ गर्ने र प्रत्येक वडामा न्यूनतम सेवा सुनिश्चित गर्ने कार्यमा जुटिरहेका छौं। साथै, जनस्वास्थ्य शिक्षामा विशेष जोड दिँदै निरन्तर स्वास्थ्य–सचेतना कार्यक्रमहरू सञ्चालन गरिनेछन्। हामी दृढ प्रतिबद्धताका साथ कचनकवललाई ‘स्वास्थ्यमैत्री पालिका’ बनाउने दिशामा अघि बढिरहेका छौं।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्