झापा, साउन ६ । घरमा रोटी पकाउने क्रममा ग्यासबाट अचानक आगो सल्किँदा झापाको हल्दिवारीमा भएको आगलागीबाट घाइते भएकामध्ये दुईजनाको अबस्था गंभीर बनेको छ ।

आज बिहान ८ः४० बजे हल्दिबारी–४ स्थित ओली चोकका ६० वर्षीय पुण्यप्रसाद ओलीको घरमा रोटी पकाउने क्रममा ग्यासबाट अचानक आगो सल्किएको थियो । आगलागीमा परी घरधनी ओली, उनका छोरा बुहारी ३३ वर्षीय छोरा सन्तोष ओली, ३२ वर्षीया अनिता ओली र कान्छो छोरा २० वर्षीय आर्यन ओली घाइते भएका हुन् । उनीहरु शरीरको विभिन्न भागमा आगोले जलेर घाइते भएका हुन् । ती चारजनामध्ये घरधनी ओली र उनका कान्छा छोराको अबस्था गंभीर बनेको हो । दुवै बाबु छोरालाई हेलिकप्टरबाट काठमाडौको किर्तिपुर अस्पताल लगिएको छ । हेलिकप्टरको व्यवस्थापन झापा क्षेत्र नं ३ का सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गरिदिएको जनाइएको छ ।
ओलीको घरको दोस्रो तलाको भान्सा कोठामा रोटी पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो । सोही आगो निभाउने क्रममा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई उद्धार गरेर ओमसाई पाथीभरा अस्पताल पठाइएको थियो । आगलागीबाट घरको भान्सा कोठा आंशिक रुपमा क्षति भएको छ । अस्थाई प्रहरी पोष्ट कञ्चनश्रीबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा बिहान ९ः१५ बजे आगो नियन्त्रणमा लिइएको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनााएको छ ।