झापा, साउन ७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा झापामा ८१ हजारभन्दा बढीको समर्थन जुटेको छ ।

पार्टीले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसविरुद्ध थालेको हस्ताक्षर संकलन अभियानमा हिजोसम्म ८१ हजार ३४७ जनाले हस्ताक्षर गरेका हुन् । मेचीनगरमा सबैभन्दा बढी १४ हजार २ सय ८० जनाले हस्ताक्षर गरेका छन् । त्यस्तै दमक, बिर्तामोड , कनकाई र गौरादहमा १२ हजारभन्दा बढीका दरले हस्ताक्षर गरेको पार्टीका कार्यवाहक जिल्ला सभापति प्रकाश पाठकले जानकारी दिएका छन् । उनले ६ वटा पालिकाको २६ हजार ५८५ हस्ताक्षरको हार्डकपी असार अन्तिममा केन्द्रीय कार्यालय काठमाण्डौ पठाइएको जानकारी दिए ।
पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसविरुद्ध देशव्यापी हस्ताक्षर अभियान थालेको रास्वपाले झापामा पनि त्यसलाई तिब्रता दिएको छ । जिल्लामा असार १४ गते त्यस अभियान शुरु गरिएको हो । जिल्लाभरिबाट २ लाख हस्ताक्षर संकलन गर्ने योजना रहेको रास्वपा झापाका कार्यवाहक सभापति पाठकले बताए ।