झापा,साउन ७ । मोरङको कटहरिमा बिजुलीको तार जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।


बद्री यादवको घरमा मिटर बक्स राख्नलाई तार जडान गर्ने क्रममा मंगलबार राति करेन्ट लागेर भोजपुर घर भएका २६ वर्षीय सुभाष सार्कीको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । उनका अनुसार बिजुलीको पोलमा चढेर तार जडान गर्दैगर्दा राति ८ बजेतिर सार्कीलाई अचानक करेन्ट लागेको थियो ।
करेन्ट लागेपछि पोलबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । मृतक सार्की प्रीति कन्स्ट्रक्सनले बिजुलीको तार टांग्नलाई खटाएका कर्मचारी हुन् ।
विद्युत प्राधिकरणले बिजुलीको पोल गाड्न, तार टांग्न, तार अपग्रेड गर्न र ट्रान्सफर्मर राख्नका लागि टेण्डर आह्वान गरेको थियो । उक्त टेण्डर प्रीति कन्स्ट्रक्सनले पारेको थियो ।कन्स्ट्रक्सनले तार टांग्नलाई काममा खटाएका कर्मचारीको करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्