बिर्तामोड , साउन ८ । गायक अरुण थापाको २६ औँ स्मृति सभा सरगम सङ्गीतालय बिर्तामोडमा मनाइएको छ ।

अगुवा विद्यार्थी सौगात संग्रौलाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ गीतकार शिवशंकर थापा रहेका थिए । त्यस्तै विशेष अतिथिमा दुर्गाप्रसाद सिग्देल, तुलसीप्रसाद भट्टराई, खिलप्रसाद सिवाकोटी, कृष्णप्रसाद पौडेल, कृष्णप्रसाद मिश्र ,कुमारी चेम्जोङ, शेखर पौडेल, कुमार कडरिया, पूर्ण धिमाल रहेका थिए । कार्यक्रममा सो सङ्गीत विद्यालयका विद्यार्थी र अभिभावकहरू सहभागी रहेका थिए ।

प्रमुख अतिथिले पानसमा दीप प्रज्ज्वलन गरी अरुण थापाको तस्बीरमा माल्यार्पण गरेपश्चात् उद्घाटन भएको कार्यक्रममा स्वागत मन्तव्यसहित अरुण थापाको चिनारी सरगम सङ्गीतालयका गुरु दिपक रायमाझीले प्रस्तुत गरेका थिए भने प्रमुख अतिथि शिवशंकर थापा , कृष्णप्रसाद पौडेल, खिलप्रसाद सिवाकोटीले आ–आफ्ना मन्तव्य राखेका थिए ।
अरुण थापाको स्मृतिमा श्रद्धाञ्जलीस्वरूप उनीद्वारा गाइएका गीतहरू गाएर सम्झना गर्ने क्रममा उद्घोषक लीला खत्री खतिवडाले “चोट के हो व्यथा के हो म जस्तो घाइतेलाई सोध“ भन्ने गीत सुनाएका थिए भने त्यस विद्यालयका विद्यार्थीहरूले अरुण थापाका अन्य कालजयी गीतहरू प्रस्तुत गरेका थिए।

एलिना राई,गुञ्जन दाहाल , सन्दीप गुरुङ ,सौगात लिम्बूले गीत प्रस्तुत गरेका थिए भने संगीततर्फ किबोर्डमा भिमबहादुर केरुङ,तबलामा दिनेश घिमिरे र गीतारमा विशाल बुढाथोकीले साथ दिएका थिए । अत्यन्तै सौहार्दपूर्ण परिवेशमा स्वर्गीय गायक थापालाई सम्झदै सभापतिको मन्तव्यपछि कार्यक्रम सम्पन्न गरिएको थियो।