झापा,साउन ८ । ताप्लेजुङमा एपेन्डिसाइटिससहित केही जटिल रोगको शल्यक्रिया सेवा सुरु भएको छ ।

विशेषज्ञ चिकित्सकको उपलब्धतासँगै आवश्यक उपकरणको व्यवस्था भएपछि जिल्ला अस्पताल ताप्लेजुङबाट शल्यक्रिया सेवा सुरु गरिएको हो ।
जिल्लाका अस्पतालका प्रमुख मेडिकल सुपरिटेनडेन्ट डा. प्रनाम जयरु आएपछि जिल्लामै उक्त शल्यक्रिया सेवा सुरु भएको हो । जेनेरल तथा ल्याप्रोस्कोपिक सर्जनमा विशेषज्ञता हासिल गरेका डा. जयरु गत माघमा ताप्लेजुङ आएका र माघ महिनाको अन्तिमदेखि नै जिल्ला अस्पतालमा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल लगायतको शल्यक्रिया सेवा सुरु गरिएको हो ।
गत माघ महिनायता हालसम्म १३६ जना बिरामीको सफल शल्यक्रिया गरिएको जिल्ला अस्पतालले जनाएको छ । उक्त संख्यामध्ये आठ जनाको एपेन्डिक्सको शल्यक्रिया गरिएको मेसु डा. जयरुले जानकारी दिए । उनका अनुसार गएको मङ्गलबार मात्रै छ वर्षका एक बच्चाको हर्नियाको सफल शल्यक्रिया गरिएको छ ।
हाल जिल्ला अस्पतालबाट प्रवाह हुँदै आएको शल्यक्रिया सेवामा डा. जयरुको नेतृत्वमा एमडिजिपी डा. ताई अन्जुक लामा लगायतको टोलीहरुको संलग्नता रहँदै आएको छ ।

जिल्ला अस्पतालमा एपेन्डिक्स, हर्निया, हाइड्रोसिलसहित पाइल्स, फिस्टुला, बच्चाको हर्निया, बच्चाको लिङ्गसम्बन्धी सर्कम सिजन र हातको सबैखाले शल्यक्रिया गरिँदै आएको छ । सेवा सुरु भएको करिव पाँच महिनाको अवधिमा शल्यक्रिया गरिएको संख्यामध्ये सबैभन्दा बढी हात र बच्चाको हर्निया तथा हाइड्रोसिलसम्बन्धी शल्यक्रिया सेवा प्रवाह गरिएको अस्पतालले जनाएको छ ।

यता एपेन्डिक्सहित विभिन्न रोगको शल्यक्रिया जिल्लाबाटै हुन थालेपछि ताप्लेजुङवासीलाई राहत पुगेको छ । मोटो रकम खर्च गरेर शल्यक्रिया सेवा प्राप्त गर्नलाई अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएपछि जिल्लावासी हर्षितसमेत भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्