विराटनगर, साउन ८ । फौजदारी कानुनका विविध विषयको आधारभूत तालिम विराटनगरमा सम्पन्न भएको छ।

साउन १ गते नेपाल बार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रले उद्घाटन गरेको फौजदारी कानूनसम्बन्धी ७ दिने आधारभूत तालिम हिजो एक कार्यक्रमका बीच सम्पन्न भएको हो।
कानून व्यवसायी परिषदका अध्यक्ष तथा महान्यायाधिवक्ता केशव बडालको प्रमुख आतिथ्यता तथा कानून व्यवसाय परिषद कोशी प्रदेशका पार्षद राजु ढकालको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई, कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता नारायण वस्ती, मोरङ बार एशोसिएसन अध्यक्ष हरिशंकर मण्डल, झापा बार एशोसिएसनका अध्यक्ष बसन्त नेपाल लगायत पूर्व पार्षद समेतको उपस्थिति रहेको थियो।

फौजदारी न्याय प्रणालीलाई थप ब्यबस्थित बैज्ञानिक, आधुनिक र पीडितमैत्री बनाउन फौजदारी संहितामा संशोधनको आबश्यकता रहेको प्रमुख अतिथि बडालले बताए । उनले नवप्रवेशी कानून ब्यबसायीहरुको क्षमता विकास गराउन यस्ता कार्यक्रम संचालन गरिएको बताउँदै तालिम सफलतापूर्वक सम्पन्न भएकोमा सहभागीहरूलाई धन्यवाद समेत दिए ।
सहभागीहरूको तर्फबाट मन्तब्य राख्दै झापा बार एशोसिएसनकी सहसचिव तथा झापा बार महिला समिति अध्यक्ष अधिवक्ता सानु कार्की बस्नेत “सिता”ले यस्ता तालिमबाट फौजदारी कानुनका विविध विषयमा सहभागीहरूलाई महत्वपूर्ण शिक्षा, ज्ञान र क्षमता प्राप्त भएको धारणा राखेकी थिइन् ।
कानून ब्यबसायी परिषदअन्तर्गत लयर्स एकेडमी समितिको आयोजना र कानुन ब्यबसायी परिषद कोशी प्रदेश सम्पर्क कार्यालय विराटनगरको सह आयोजनामा भएको कार्यक्रममा फौजदारी कानूनका विज्ञ प्रशिक्षक उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरू, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले प्रशिक्षण दिएका थिए । उक्त तालिममा मोरङ, सुनसरी, झापालगायतका जिल्लाबाट ४५ जनाभन्दा बढी नबप्रबेशी कानून व्यवसायीहरूको सहभागिता रहेको अधिवक्ता बस्नेतले बताइन् ।