झापा , साउन १० । सप्तरीको रूपनी गाउँपालिका–२ स्थित पौवाँ टोलमा आज बिहान करेन्ट लागेर दलित दम्पतीको मृत्यु भएको छ ।

सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर ४२ वर्षीय बालेश्वर खंग र उनकी ३८ वर्षीया श्रीमती रामकुमारी खंगको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बालेश्वर खंग ‘कैला’ आज बिहानै ४ बजे उठेका थिए । आफ्नो ई–रिक्सा चार्ज गर्न थाले । अचानक करेन्ट लागेर उनी त्यहीँ ढल्न पुगे । केहीबेरसम्म उनलाई नदेखपछि पत्नी रामकुमारी खोज्न थालिन् । बालेश्वरलाई ढलेको देख्नासाथ उठाउन गएकी उनलाई करेन्ट लाग्यो । उनी पनि त्यहीँ ढल्न पुगिन् ।
दुवैलाई करेन्ट लागेपछि छुटाउन गएकी भतिजी २४ वर्षीया प्रमिलाकुमारीलाई पनि करेन्ट लागेर टाउकोमा चोट लागेको छिमेकी राजेन्द्रकुमार मण्डलले बताए । ‘लाइन काट्दासम्म दम्पतीको मृत्यु भइसकेको थियो,’ मण्डलले भने, ‘सम्पत्तिको नाममा केही छैन उहाँहरुसँग, अब दुई सन्तानलाई गुजारा चलाउन ज्यादै मुश्किल पर्छ ।’ खंग दम्पतीको गुजाराको माध्यम नै ई–रिक्सा रहेको उनले बताए ।
घटनास्थल पुगेका गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगेको बताए ।मृतक दम्पतीका १९ वर्षीय सुरज र १० वर्षीय निरज गरी दुई छोरा छन् ।