
“प्राकृतिक रूपको खानी र पहाडको रानी” भनेर चिनिने, पूर्वी नेपालको अत्यन्तै रमणीय प्राकृतिक बनावट भएको एक सुन्दर पहाडी जिल्ला हो इलाम । पूर्व र उत्तरमा भारत दक्षिणमा झापा अनि पश्चिममा मोरङ र पाँचथर जिल्लासँग सिमाना गाँसिएको बिचको समशीतोष्ण जलवायु भएको उर्वरभूमि इलाममा माई, जोगमाई, पुवामाई र देउमाई मुख्य चार खोलाहरू भएको हुँदा चारखोल भनेर पनि चिन्ने गरिन्छ इलामलाई । वरिष्ठ कवि भुपि शेरचनको एउटा कवितामा “मलाई नेपाल भरि इलाम छर्न मन छ” भन्ने एक हरफले पनि इलामको सौन्दर्य कति होला भन्ने किटान गर्न सकिन्छ । अँ ,साँच्चै नै इलाम एउटा अतुलनीय सौन्दर्य बोकेको, स्वच्छ वातावरण भएको र आकर्षक भौगोलिक अवस्थिति रहेको ठाउँ हो ।
आलु, अम्लिसो, अलैंची, अकबरे, अर्थोडक्स चिया, ओलन, धान,मकै, गहुँ, कोदो, फापर, तोरी, विभिन्न खाले तरकारी खेती, अनेकन फलफूल उत्पादन, जडीबुटी, वनजङ्गल जन्य उत्पादन र पशुपालन यहाँको कृषिजन्य पेशा व्यवसाय रहेको पाइन्छ । साना ठूला उद्योगधन्धा, ब्यापार, सेवा प्रदायक कार्यहरू जागिर, चिकित्सा, वकालत, शिक्षण, यातायात तथा ढुवानी सेवा विभिन्न परामर्श सेवा, संस्कार संस्कृतिजन्य सेवाहरू यहाँका जनजीविकामा चलिरहेको पेशा मान्न सकिन्छ।
धेरै जातजाति र भाषाभाषीको समिश्रण बसोबास रहेको इलाम जिल्ला अहिलेको संरचना अनुसार चार नगरपालिका र छ गाउँपालिका गरी दशवटा पालिकामा विभक्त छ। विकास निर्माणको आधारमा पूर्ण सुगम र सम्पन्न चाहिँ भइनसकेको तर तीव्र विकासको क्रममा जाँदै गरेको समग्र इलाम जिल्लाको पालिकाहरूमध्ये इलाम नगरपालिका इलामको लगभग केन्द्रविन्दुमा रहेको पालिका हो । इलाम जिल्ला सदरमुकाम समेत रहेको यस पालिकामा १२ वटा वडाहरू छन् र नयाँ संरचना अनुरूप चरणबद्ध विकासको क्रममा अघि बढिरहेका छन् ।
यिनै १२ वटा वडामध्ये वडा नम्बर ५ साविक बरबोटेमा अहिले केही उदाहरणीय कार्यहरू हुन थालेको देखेर आम मानिसको ध्यानाकर्षण भएको देखिन्छ । केही महिना अगाडि दुर्गा आधारभूत विद्यालयले सञ्चालन गरेको विद्यालय सुधार तथा पुनर्निर्माण अभियानमा श्रम तथा आर्थिक सहयोग उपलब्ध गराइ विद्यालयको स्वरूप नै बदल्न सफल भएकोमा विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक परिवार, विद्यार्थी र विशेष गरी प्रधानाध्यापक जितबहादुर कार्की सरको अतुलनीय योगदानको प्रशंसा नगरिरहन सकिदैन । उहाँहरूको निरन्तर खटाइ र अथक प्रयासबाट नयाँ प्रेरणा जन्मिएको हुन सक्छ ।
हुन त, विगतमा पनि श्रमदानका काम हुने गरेका थिए धेरै बाटाघाटा, विद्यालय, कुलो पैनीहरू, अनेकौँ भौतिक संरचना त्यो बेला पनि नबनेका होइनन् तर पछिल्लो समय आन्तरिक श्रमदानमा कमी आइरहेको बेला इलाम नगरपालिका वडा नम्बर ५ निवासी भाइ पदम गुरुङले सुरु गरेको श्रम अभियानले गाउँमा एउटा मनपर्दो रौनकता छाएको छ । गाउँ गाउँमा सरसफाइ, बाटोको मर्मत संहार लगायतका काम त भएकै छन् ,त्यसको अलावा बिब्ल्याँटे बजारबाट मेची राजमार्गसँग छुट्टिएर उत्तरतर्फ गएको बाटो सामु रहेको किरात चोकमा एक अतुलनीय काम सम्पन्न भएको छ, पर्यटकीय हिसाबले यो अत्यन्तै महत्वपूर्ण उपलब्धि हो । लिम्बू जाति परम्परा र संस्कृतिसँग जोडिएको च्याब्रुङ बाजा र पालम नाच एउटा ऐतिहासिक धरोहर हो ।

यसको संरक्षण र संवर्धन गर्नु अहिलेका युवा पुस्ताको दायित्व र कर्तव्य हुन आउँछ, यसै सन्दर्भमा स्थानीय युवाहरू विशेष गरी कलाकार भाइ तिर्थ जवेगूको कलाकारितामा निकै दिनको मिहिनेतबाट निर्मित च्याब्रुङ बाजा बोकेको प्रतिमालाई अन्तर आत्मादेखि सलौट गर्नु पर्दछ । विभिन्न दाता महानुभावहरूबाट प्राप्त भएको जमिन, निर्माण सामग्री, नगद एवम् प्राविधिक सहयोग र श्रमदानलाई ह्रदय बिछ्याएर सम्मान गर्नु पर्दछ । यो खालको स्तुत्य क्रियाकलापले हाम्रो भावी पुस्तामा उत्साह र प्रेरणा जगाउनेछ र राष्ट्र निर्माणमा गतिलो उदाहरण बन्न सक्नेछ ।
त्यसैले यस कार्यमा निरन्तर लागिपरेका र सफलता हासिल गरेका सम्पूर्ण स्थानीयबासीहरूमा हार्दिक बधाई ज्ञापन गर्दछु र अभियानलाई निरन्तरता दिदै अन्य धेरै रचनात्मक कामहरू सम्पन्न गर्न शुभकामना व्यक्त गर्दछु । अभियान सञ्चालक भाइ पदम गुरुङ र आ–आफ्नो ठाउँबाट योगदान गर्नुहुने सम्पूर्ण प्रियजनहरूमा धेरै धेरै धन्यवाद ! इलाम नगरपालिका– ५ बरबोटे ,हाल बिर्तामोड– ५ झापा
सुन्दर लेख हजुर को