झापा,साउन ११ । वैदेशिक रोजगारीका नाममा हुने ठगी बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१-८२ मा १२ हजार ७९० उजुरी दर्ता भएका छन् । गत आव २०८०-८१ मा सात हजार ७६३ वटा उजुरी दर्ता भएका थिए । जुन संख्या गत आवको तुलनामा पाँच हजार २७ वटा अर्थात् करिब ४० प्रतिशतले बढी हो ।
वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ, दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिने गरेका छन् । यसरी ठगीमा पर्ने सबैको तथ्याङ्क भने भेटिँदैन ।
विभागका अनुसार यस अवधिमा सबैभन्दा बढी उजुरी मुद्दा र अनुसन्धान शाखामा पाँच हजार ६३२ वटा उजुरी दर्ता भएका छन् । यस अवधिमा दर्ता भएका उजुरीमध्ये ५२८ वटाको मिलापत्र र २६७ वटा अदालतमा मुद्दा दायर भएको विभागले जनाएको छ । सो अवधिमा मिलापत्र गराउँदा पीडकबाट पीडितलाई क्षतिपूर्तिबापत ३२ करोड आठ लाख ७३ हजार ४६५ रुपियाँ भराइएको विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार यस शाखामा सो अवधिमा परेका उजुरीमध्ये चार हजार ९३७ वटा उजुरी छानबिन गर्ने काम भइरहेको छ ।
विभागका अनुसार सो अवधिमा विभागमा रहेको प्रहरी शाखामा पाँच हजार ३३७ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये चार हजार ८७६ वटा उजुरी फस्र्योट भए भने १२ वटा उजुरीमा मिलापत्र गराइएको छ । जसबाट १२ लाख चार हजार पाँच सय रुपियाँ बराबरको रकम क्षतिपूर्तिबापत भराएको विभागले जनाएको छ । सो अवधिमा प्रहरीमा दर्ता भएका उजुरीमध्ये ४४९ वटा उजुरी फस्र्योट हुन बाँकी रहेको जनाइएको छ ।

त्यसै गरी सो अवधिमा विभागमा उद्धार राहत तथा समन्वय शाखामा एक हजार ८२२ वटा उजुरी परेकोमा ९७९ वटा उजुरीको फस्र्योट गरिएको छ । जसमा ५९० वटा उजुरीबाट सात करोड २० लाख आठ हजार ३५० रुपियाँ बराबरको रकम क्षतिपूर्ति भराएको छ । सो शाखाले सो अवधिमा आएका उजुरीमध्ये १२३ जनालाई आपसी सहमति गराएको छ भने ३३ वटा उजुरी तामेलीमा राखेको छ । सो शाखाले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका १६९ जनालाई विभिन्न देशबाट उद्धार गरेर स्वदेश ल्याउन सफल भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्