झापा,साउन ११ । बाढीलेमोटर गुड्ने पुल बगाएपछि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा स्ट्रेचरमा बोकेर बिरामीको उद्धार गरिएको छ ।


फक्ताङलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेको बेलिब्रिज तथा अस्थायी काठेपुल बाढीले बगाएका कारण स्थानीयले बोकेरै बिरामीको उद्धार गरेको हो ।
फक्ताङलुङ गाउँपालिका –५ तापेथोक र ६ लेलेप जोड्ने रानीपुल र तापेथोकमै रहेको ताम्मावाखोलाको अस्थायी काठेपुलमा बाढीले क्षति पुगेपछि स्थानीयले सास्ती खेप्नुपरेको छ ।
यस्तै, मर्कामा गएराति फक्ताङलुङ –६ लुङथुङका स्थानीय परेका छन् । करिब ३० वर्षीया महिला पेम्बा शेर्पा सिकिस्त बिरामी परेपछि स्थानीयले घण्टौँसम्म बोकेर उनको उद्धार गरेका छन् । स्थानीय तेन्जिङ वालुङ शेर्पाका अनुसार करिब ३ घण्टा निरन्तर बोकेर गाडी सञ्चालन हुने क्षेत्रसम्म लगेर बिरामीलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । लेलेपको लुङथुङदेखि तापेथोकको ताम्मावाखोलासम्म बिरामीलाई स्ट्रेचरमा बोकेर उद्धार गरिएको छ । बेलुकी साढे ८ बजे बिरामीलाई बोकेर हिँडेको टोली करिब मध्यराति १२ बजेमात्र गाडीको सुविधा भएको ठाउँ ताम्मावाखोलामा पुगेको थियो ।
गाउँमा रहेको करिब १५ जना युवाको समूहले महिलालाई बोकेर मध्यराति गाडी भएको स्थलसम्म पु¥याएका थिए । बिरामी पु¥याएर फर्किएको समूह अहिले बिहान ७ बजेमात्र घरगाउँ पुगेको स्थानीय शेर्पाको भनाइ छ । स्थानीयका अनुसार बाढीले पुल बगाएपछि यातायात ठप्प हुँदा खाद्यान्नलगायतका सामग्री बोकेर लानुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्