झापा, साउन १२ । झापाको दमकमा घर अगाडि फर्केर पिसाब फेरेको निहुँमा विवाद हुँदा ३ जना घाइते भएका छन् ।

गएराति १०.३० बजे दमक २ बस्ने समिर तामाङको घरअगाडी दमक ३ बस्ने २६ वर्षीय सुरज क्षेत्री, १८ वर्षीय आदित्य लिम्बूसमेत ३÷४ जना हावा खाई बसिरहेको अवस्थामा को १ ज ३५६५ नम्बरको म्याजिकमा आएका म्याजिक चालक सोही ठाउँ बस्ने ३६ वर्षीय निरज बानियासमेतका युवाहरुले सो घरअगाडी फर्की पिसाव फेरी हावा खाई बसिरहेको मानिसहरुलाई अपशब्द प्रयोग गरेपछि विवाद भएको थियो ।
विवाद बढ्दै गई कुटपिट हुँदा सुरज क्षेत्री , आदित्य लिम्बू र निरज बानिया घाइते भएका छन् । क्षेत्रीको दाहिने हातमा चोट लागेको छ भने लिम्बूको दाहिने खुट्टामा चोट लागेको छ । दुवै जनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।
बानियाको टाउको, अनुहार र दुबै घुँडामा चोट लागेको छ । उनलाई उपचारको लागि निम्स अस्पताल दमकमा भर्ना गरिएको छ । घटनास्थलमा प्रहरी चौकी बाघखोरबाट प्रहरी टोली खटिएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।