झापा,साउन १२ । निरन्तरको वर्षातका कारण बाढी आउँदा तमोर करिडोरको पाँचथर–धनकुटा र मेची राजमार्गको पाँचथर खण्ड अवरुद्ध भएको छ ।

मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गत हेवा खोलामा बाढी आएर त्यहाँ निर्मित डाइभर्सनको सतह पार गरेपछि मध्यरातदेखि यो सडक अवरुद्ध भएको हो ।
यस्तै तमोर करिडोरमा पर्ने नावा खोलामा बाढी आएपछि यो खण्डमा सवारी वारपार गर्न सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए ।
उनका अनुसार तमोर करिडोरको नावा खोलामा रहेको झोलुङ्गे पुलबाट मोटरसाइकल भने आउ जाउ भइरहेका छन् । हेवा खोलामा भएको अवरोध पानीको सतह घटनासाथ डाइभर्सन मर्मत गरेर खुलाइने सडक डिभिजन इलामले जनाएको छ ।