झापा, साउन १२ । राउण्ड टेबल बिर्तामोड २७ ले अधिकांश सीमान्तकृत समुदायका बालबालिका अध्ययन गर्ने भौतिक सुविधाले पछि परेको बाह्रदशी ३ स्थित रामनगर आधारभूत विद्यालयलाई नमूना विद्यालय बनाउने परियोजना संचालन गरेको छ ।

लाखौंको बजेट खर्च गरी नमूना विद्यालय बनाउने परियोजनाअन्तर्गत पहिलो चरणमा राउण्ड टेबल बिर्तामोड २७ ले रामनगर आधारभूत विद्यालयमा खानेपानी र शौचालय निर्माण गरिदिएको हो । करिव ३ लाख रुपैयाँको लागतमा निर्माण गरिएको खानेपानी र शौचालय आज एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरियो । विद्यालयको अभिभावकत्व ग्रहण गर्दै नमूना विद्यालय बनाउनका लागि करिव ३० लाख रुपैयाँ खर्च गर्ने योजना रहेको राउण्ड टेबल बिर्तामोड २७ का अध्यक्ष मनोज गोयलले बताए । उनले सो बजेटबाट कक्षा कोठा , कम्प्युटर ,इ–लाइब्रेरी, प्लेग्रुप विद्यार्थीहरुका लागि कोठालगायतका संरचना निर्माण गरिने जानकारी दिए । उनले स्थानीय सरकारसंग मिलेर यी योजनाहरु सम्पन्न गरिने बताए ।
यसअघि सामाजिक संस्था द राउण्ड बिर्तामोड २७ ले झापाको बिर्तामोड १० स्थित चमरधाप प्राथमिक विद्यालयमा कक्षाकोठा , कम्पाउण्ड वाल, शौचालय र खानेपानी निर्माण गरिदिएको थियो । सामाजिक संस्था राउण्ड टेबल नेपालअन्तर्गतको राउण्ड टेबल बिर्तामोड २७ ले शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको छ । राउण्ड टेबल बिर्तामोड २७ का अध्यक्ष गोयलले सामाजिक उत्तरदायित्वअन्तर्गत शुद्ध खानेपानी र सुरक्षित शौचालय उपभोग गर्न पाउने विद्यार्थीहरुको अधिकार सुनिश्चित गर्नका लागि विद्यालयहरुलाई सहयोग गर्दै आएको बताए ।
अध्यक्ष गोयलको अध्यक्षता तथा बाह्रदशी गाउँपालिकाकी अध्यक्ष शान्ता शिवाकोटी खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका सबै वक्ताहरुले राउण्ड टेबल बिर्तामोड २७ ले गरेको उदाहरणीय कार्यको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खरेल , बाह्रदशी ३ का वडाध्यक्ष टंकप्रसाद शाह , पूर्व वडा अध्यक्ष वीरेन्द्रप्रसाद राजवंशी , बाह्रदशी सामुदायिक क्याम्पसका अध्यक्ष गंगाप्रसाद अधिकारी , विद्यालय व्यवस्थापन समितिका सदस्य झरु राजवंशी , प्रधानाध्यापक यज्ञप्रसाद थापालगायतले बोलेका थिए । राउण्ड टेबल बिर्तामोड २७ का सचिव दीपक मित्तलले आफ्नो संस्थाको गतिविधिबारे प्रकाश पारेको कार्यक्रमको संचालन संचारकर्मी लीला अनमोलले गरेकी थिइन् ।

२०४५ सालमा स्थानमा भएको रामनगर आधारभूत विद्यालयमा कक्षा ८ सम्म अध्यापन हुन्छ । जम्मा १५० जना विद्यार्थीहरुमा अधिकांश राजवंशी र मुस्लिम समुदायका छन् । कक्षा १ मा ८ जना विद्यार्थी रहेकोमा ५ जना आदिवासी र ३ जना मुस्लिम , कक्षा २ मा १३ जना विद्यार्थी रहेकोमा १३ जना आदिवासी , ४ जना मुस्लिम , एकजना दलित र एकजना खस रहेका छन् । त्यस्तै कक्षा ३ मा १३ जना विद्यार्थी रहेकोमा ६ जना आदिवासी , ५ जना मुस्लिम ,खस एकजना खस र एकजना मधेसी , कक्षा ४ मा १९ जना विद्यार्थी रहेकोमा आदिवासी ६ जना , मुस्लिम ६ जना , खस ४ जना र दलित २ जना , कक्षा ५ मा १२ जना विद्यार्थी रहेकोमा मुस्लिम ७ जना , आदिवासी ४ जना र खस १ जना , कक्षा ६ मा १५ जना विद्यार्थी रहेकोमा आदिवासी १० जना , खस ४ जना र दलित १ जना , कक्षा ७ मा २१ जना विद्यार्थी रहेकोमा आदिवासी १० जना , मुस्लिम ६ जना , खस ४ जना र दलित १ जना तथा कक्षा ८ मा २२ जना विद्यार्थी रहेकोमा आदिवासी ११ जना , मुस्लिम ६ जना , खस ४ जना र दलित १ जना रहेका छन् । विद्यालयमा शिक्षक कर्मचारी १२ जना रहेका छन् ।