झापा,साउन १३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ पर्यटन नीति ल्याएको छ ।

पर्यटन नीति २०६५ लाई प्रतिस्थापन गर्दै मन्त्रालयले १७ वर्षपछि नयाँ नीति ल्याएको हो ।
नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पु¥याउन र आर्थिक समृद्धिको आधारशिला तयार गर्न साविकको नीतिलाई प्रतिस्थापन गरी नयाँ पर्यटन नीति तर्जुमा गरिएको बताइएको छ । नयाँ संविधान जारी पछि तीन तहको शासकीय व्यवस्था अनुकूल बनाई अन्तरतह तथा अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउन, गुणस्तरीय र सुविधाजनक पूर्वाधारको विकास गर्न, पर्यटकीय वस्तुको विविधीकरण र विस्तार गर्न नयाँ नीतिको आवश्यकता औंल्याइएको छ ।
यस्तै, नेपालको तुलनात्मक लाभका पर्यटकीय वस्तुहरूको प्रचारप्रसारलाई प्रभावकारी बनाउन पर्यटकीय गतिविधिलाई दिगो, समतामूलक र वातावरणमैत्री बनाउन; पर्यटन संस्कृतिको विकास र विस्तार गर्न पर्यटन क्षेत्रको विकासमार्फत रोजगारीका थप अवसर सिर्जना गर्न आन्तरिक र वैदेशिक लगानी आकर्षण गर्न पर्यटकको रुचि र पर्यटकीय प्रविधिमा आएको परिवर्तन सम्बोधन गर्न नयाँ नीति ल्याएको भनिएको छ ।
साथै पर्यटकीय क्षेत्रमा आएका नयाँ आयामहरू अध्यात्म, खेल, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रहरूलाई सम्बोधन गर्न तथा पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिकालाई प्रवर्धन तथा प्रोत्साहन गर्न नयाँ नीति ल्याइएको मन्त्रालयले जनाएको छ ।
सरकारले ल्याएको नयाँ पर्यटन नीतिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थलहरू निर्माण र सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने उल्लेख गरेको छ । अहिले विमानस्थल सञ्चालन तथा व्यवस्थापन नागरिक उड्डयन प्राधिकरणले मात्रै गर्दै आइरहेको छ । नीतिले विशेषतः पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नीजि क्षेत्रसँगको सहकार्यलाई पनि खुला गरेको देखिन्छ । राजधानी बाहिरका अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रोत्साहित गरिने भन्ने नीतिमा उल्लेख छ ।
यस्तै, नीतिले राजधानी बाहिरका सम्भावित विमानस्थलहरूलाई क्षेत्रीय हबको रूपमा विकास गरी अन्तरदेशीय तथा अन्तरक्षेत्रीय हवाई सेवा सञ्चालन गरिने बताएको छ । प्रदेश तथा स्थानीय तहमा खेल पर्यटन प्रवर्धन गर्न सार्वजनिक निजी साझेदारीमा खेलकुद पूर्वाधारमा लगानी आकर्षित गरिने भनेको छ । नीतिले डिजिटल प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) समेतको प्रयोग गरी नेपालको पर्यटकीय विशेषता झल्काउने श्रव्यदृश्य सामग्री बहुभाषामा प्रकाशन गर्ने उल्लेख गरेको छ ।
यस्तै, पर्यटन क्षेत्रको अध्ययन, अनुसन्धान एवं तथ्यांक तथा सूचना अद्यावधिक गरिने र पर्यटनसँग सम्बन्धित समग्र तथ्यांक संकलन र विश्लेषण गर्न टुरिजम सेटेलाइट अकाउन्ट तयार गरिने भनिएको छ । पर्यटकीय गन्तव्य र वस्तुको विविधीकरण र विस्तार गर्ने, नेपालका पर्यटकीय वस्तुको सम्भाव्य स्रोत बजारमा प्रचारप्रसार गर्ने, पर्यटन प्रवर्धनमा निजी क्षेत्र, नेपालका विदेशस्थित कूटनीतिक नियोगका साथै गैरआवासीय नेपाली आबद्ध संघसंस्थासँग सहकार्य गर्ने नयाँ नीतिले लिएको छ ।
त्यसैगरी, पर्यटन क्षेत्रका अन्तर्राष्ट्रिय सेवाप्रदायकसँग सहकार्य गर्ने, सरकार, निजी क्षेत्र, समुदाय र सरोकारवालाको समन्वय र सहकार्यमा आन्तरिक पर्यटन प्रवर्धन गर्ने, गुणस्तरीय र पर्यटकमैत्री पूर्वाधार निर्माण गर्ने, पर्यटन सेवामा आन्तरिक र बाह्य पर्यटकको पहुँच अभिवृद्धि गर्ने, पर्यटकीय गतिविधिलाई वातावरणमैत्री बनाउनेलगायत कार्यनीति नयाँ नीतिले लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्