झापा,साउन १३ । निर्यात व्यापारमार्फत वदेशी मुद्रा आर्जनमा एक हिस्सा ओगटेको नेपाली अलैँचीले यतिबेला निकै उत्साह थपेको छ ।

पहाडी जिल्लाका किसानका लागि आम्दानीको मुख्य स्रोत बन्न थालेको अलैँचीलाई किसानले पछिल्लो समय निकै महत्व दिन थालेका छन् ।
प्रतिमन ९० देखि ९५ हजार रुपियाँमा कारोबार भइरहेको अलैँचीको अहिले बिरुवा लगाउने सिजन पनि हो । फल्न थालेको अलैँचीको गोडमेल गर्ने, बगान सरसफाइ गर्ने र फूल लागेका दानाको सुरक्षा गर्ने समय रहेको अलैँची किसान बताउँछन् ।

१० वर्षयताकै राम्रो मूल्य भएकाले यो साल किसानले अलैँचीमा उत्साह देखाएको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्याल बताउछन् । “१० वर्षअघि प्रतिमन एक लाख रुपियाँमा कारोबार भएको थियो । त्यसपछि २०७९ सालमा प्रतिमन ३२ हजार रुपियाँमा कारोबार भएको थियो,” अध्यक्ष पौड्यालले भने, “गत मङ्सिर, पुसतिर प्रतिमन एक लाख १० हजार रुपियाँसम्म किनबेच भयो, अहिले ९०–९५ हजार रुपियाँमा कारोबार भइरहेको छ । यो मूल्य त्यति कम होइन ।” पौड्यालका अनुसार इलामबाट मात्रै वार्षिक तीन अर्ब रुपियाँको अलैँची निकासी हुने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्