एजेन्सी । रुसको सुदूरपूर्वी तटमा ८ दशमलव ८म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समय अनुसार बुधबार बिहान ८ बजेर २५ मिनेटमा उक्त शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पपछि रुस, जापान र अमेरिकाको अलास्का क्षेत्रका साथै हवाईमा सुनामीको चेतावनी दिइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (यूएसजीएस)का अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर (७८ माइल) टाढा र १८ दशमलव २ किलोमिटर गहिराइमा गएको सीएनएनले जनाएको छ ।
रुसको काम्चात्का प्रायद्वीपमा सुनामीको जोखिम रहेको भन्दै त्यहाँका गभर्नर भ्लादिमिर सोलोदोभले स्थानीय बासिन्दालाई तटीय क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेका छन् ।

जापानको मौसम विज्ञान एजेन्सीले पनि जापानका तटीय क्षेत्रहरूमा १ मिटर अग्लोसम्म छाल आउन सक्ने भन्दै सतर्कताको सूचना जारी गरिएको जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेले जनाएको छ ।

प्रशान्त सुनामी चेतावनी केन्द्रले प्रारम्भिक भूकम्पीय मापदण्डका आधारमा व्यापक र खतरनाक सुनामी आउने सम्भावना रहेको जनाएको छ । हवाई टापुहरूमा र अलास्का राज्यको एल्युसियन टापु समूहका केही भागका लागि पनि सुनामीको पूर्वसूचना जारी गरिएको छ ।

भूकम्पको केन्द्रबिन्दु रुसको सुदूरपूर्वी काम्चात्का प्रायद्वीपको समुद्री तट बाहिर रहेको छ, जुन क्षेत्र कम जनसंख्यायुक्त र दुर्गम मानिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्