झापा, साउन १४ । रसुवाको भोटेकोशी नदीमा गएराति अर्को बाढी आएको छ ।

भोटेकोशीमा जलसतह एक्कासि बढेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार चीनतर्फ ठूलो पानी परेर बाढी आयो या अघिल्लो पटक जस्तो हिमनदी फुट्यो यकिन हुन सकेको छैन ।

भोटेकोशीको बाढीले रसुवागढी–स्याफ्रुबेशी सडक फेरि विच्छेद भएको छ । त्यस्तै केही पुल र क्याम्प पनि बगाएको जानकारी आएको छ । बाढी आउनेबित्तिकै प्रहरी टोली परिचालन गरेर नदी तटिय क्षेत्रका स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार मानवीय क्षति भएको अवस्था छैन । त्रिशूली नदी आसपासमा पनि सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

गएको असार २४ गते ल्हेन्दो खोलामा बाढी आएको थियो । त्यतिबेला ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा सुप्राग्ल्यासियर ताल विस्फोट हुँदा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालिएको थियो ।

त्यसबाट केरूङ नाकाको मितेरी पुल बगाउनुका साथै भन्सार यार्डमा रहेका गाडीहरू पुरेको थियो । त्यस्तै स्याफ्रुबेशीदेखि केरूङसम्म पुग्ने बाटो कटान गरेको थियो । मर्मत गरिएको यो सडक अहिले फेरि विच्छेद भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्