झापा,साउन १५ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ।

जैविक विविधता, रैथाने संस्कृति संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण, बाँस प्रवद्र्धन, गिटी क्रसर नियमन र जंगली जनावर नियन्त्रणजस्ता माग राख्दै साउन ११ गतेदेखि काठमाडौँमा अनशनरत मेयर भट्टराईको जीवनरक्षाका लागि तत्काल पहल गर्न आयोगले नेपाल सरकारसँग आग्रह गरेको हो।
आयोगले अनशन स्थल माइतीघर मण्डला र वीर अस्पताल पुगेर निरीक्षण गरेको जनाएको छ। निरीक्षणका क्रममा आयोगले भट्टराई स्वयं, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, वीर अस्पतालका चिकित्सक र प्रशासनसँग जानकारी लिएको छ।
अनुगमनका क्रममा भट्टराईलाई माइतीघरमा अनशन बस्नुअघि सिंहदरबारतर्फ अगाडि बढ्दा प्रहरीले नियन्त्रणमा लिई माइतीघरमै ल्याएको तथा स्थानीय प्रशासनले रत्नपार्कस्थित शान्तिवाटिकामा अनशन बस्न आग्रह गरे पनि भट्टराईले अस्वीकार गरेको पाइएको आयोगले विहीबार जनाएको छ।
भट्टराईको स्वास्थ्य अवस्था क्रमशः गम्भीर बन्दै गएको र ब्लडप्रेसर, सुगर तथा मुटुको धड्कन सामान्यभन्दा कम रहेको जानकारी अस्पताल प्रशासनले दिएको आयोगको विज्ञप्तिमा उल्लेख छ। यद्यपि भट्टराईले अझै पनि थप उपचारका लागि भर्ना हुन अस्वीकार गर्दै आएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्