बिर्तामोड , साउन १५ । बिर्तामोड नगरपालिकाको कार्यपालिकाको बैठकले व्यक्तिगत अफवाह फैलाउने, सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्ने जस्ता कार्य पूर्णत बन्द गर्न जनप्रतिनिधिहरुलाई सचेत गराएको छ ।

नगर उपप्रमुख नगेन्द्र संग्रौलाले वडाध्यक्ष अजय कार्कीको विरुद्धमा सामाजिक संजालमा लेखेको टिप्पणीलाई लिएर हिजो नगरपालिकामा अप्रिय घटना भएपछि आज बसेको कार्यपालिकाको बैठकले सम्पूर्ण जनप्रतिनिधिहरुलाई त्यस किसिमको सचेत गराएको हो । बैठकले आफ्नो मान मर्यादा कायम गर्न र आचारसहिंता पूर्णरुपमा पालना गर्न अनुरोधसमेत गरेको छ ।

बैठकले हिजो दिउँसो उपप्रमुखको कार्यकक्षमा मेलमिलापकर्ताहरुको वार्षिक समीक्षा बैठक चलिरहेको अवस्थामा वडाध्यक्ष कार्कीको नेतृत्वमा २५÷३० जनाको समूह प्रवेश गरी फेसबुकमा लेखेको विषयलाई लिएर उपप्रमुख संग्रौलामाथि गालीगलौज, अभद्र व्यवहार गर्दै जनप्रतिनिधिले नै अपरिचित व्यक्तिहरुको समूह लिएर हुलहुज्जत गर्दै सिंगो नगरपालिकाको गरिमा घटाउने कार्य गरेकाले त्यस्तो अनुचित कार्यको भत्सर्ना गर्दै सिंगो नगर कार्यपालिका खेद व्यक्त गरेको छ । उक्त विवादलाई अन्त्य गरि मेलमिलाप गर्न गराउन आज बसेको कार्यपालिकाको बैठकमा वडा नं. ८ का वडाध्यक्ष कार्की अनुपस्थित रहेका थिए ।

बैठकले दुबै पक्षबीच भएका व्यक्तिगत मतभेद र लाञ्छनालाई आपसी मेलमिलापबाट निवारण गर्न अनुरोध गरेको छ । साथै उक्त विषयमा अन्याय भएको महसुस भएमा दुवै पक्षलाई कानूनी उपचार खोज्ने बिकल्प खुल्ला रहेको समेत जानकारी गराएको छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिर्तामोड नगर कमिटीले पनि सबै जनप्रतिनिधिहरुलाई आफ्नो मर्यादालाई ख्याल गर्दै सामाजिक सञ्जालमा अनावश्यक टिकाटिप्पणी नगरी जनताको सेवामा क्रियाशील हुन आग्रह गरेको छ । नगर अध्यक्ष सुवास भट्टराईले एक प्रेस विज्ञप्ति जारी गरी त्यस्तो आग्रह गरेका हुन् ।

उनले कुनै पनि सार्वजनिक वा निजी स्थानमा हुलहुज्जत गर्ने, गुण्डागर्दी गर्ने छुट कसैलाई नभएको भन्दै कानुनलाई हातमा लिने र हुलहुज्जत गर्दै उपप्रमुख संग्रौलामाथि कुटपिटको प्रयास गर्ने वडाध्यक्ष कार्कीसहित उक्त कार्यमा संलग्नलाई कानुन बमोजिम कारवाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्