झापा, साउन १५ । शिवसताक्षीको नवनिर्मित दुधे रंगशालामा नेपालको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

पहिलोपटक हुन लागेको झापा महिला गोल्डकप यही कात्तिक १५ देखि २२ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको हो । आयोजक झापा महिला गोल्डकपले आज पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको हो । देशकै प्रतिष्ठित महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सम्पन्न गर्नेगरी तयारी थालिएको गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले बताए ।
झापा महिला गोल्डकपको विजेता टिमले नेपालकै सर्वाधिक राशि पुरस्कार पाउनेगरी आयोजक टिमले तयारी गरिरहेको जनाएको छ । त्यस्तै, मस्ट भ्यालुएवल प्लेयर, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद र ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगितामा आयोजकको तर्फबाट एक टिम रहनेछ । त्यस्तै, नेपालका तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लबका महिला टिमको सहभागिता टुंगो लागिसकेको छ । एक टिम भारत, एक टिम भुटान तथा बाँकी दुई टिम नेपालका ए डिभिजन क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
त्यसका लागि दुधे रंगशालाको निर्माण तथा स्तरोन्नति धमाधम भइरहेको छ । पक्की प्यारापिट निर्माण, अस्थायी प्यारापिट निर्माण, खेलमैदानको स्तरोन्नति असोजसम्म सक्नेगरी तीव्ररुपमा काम भइरहेको संरक्षक रहेका शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्राले बताए । प्रतियोगिता सञ्चालनको लागि एक करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
प्रतियोगिताको संरक्षकमा नगरप्रमुख मेगाहाङ थोप्रासहित शिवसताक्षीका जनप्रतिनिधिहरु रहेका छन् । प्रतियोगिता सञ्चालनको लागि झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङलाई सल्लाहकार संयोजक चयन गरिएको छ ।