झापा, साउन १६ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ३ स्थित शिवामा रहेको अपर तमोर हाईड्रो पावरको काममा अवरोध भएको छ ।

आज बिहान ८ः३५ बजे अपर तमोर हाईड्रोपावरमा काम गर्ने कामदारहरु काम गर्न गएको समयमा करिब १०÷१२ जनाको संख्यामा मानिसहरु आई कामदारहरु बस्ने ब्यारेकमा तोडफोड गरेका छन् । तोडफोडबाट ब्यारेकको १३ वटा झ्याल, ६ वटा ढोका र १ थान हलोजेन बत्तीमा क्षति पुगेको छ । तोडफोड गरि उनीहरु फरार भएका छन् ।
त्यस्तै अपर तमोर हाइड्रोपावर कम्पनीमा काम गर्नको लागि ल्याइएका विभिन्न सवारी साधनहरु टिपर–२ वटा,बोलेरो एउटा र स्काइभेटर ४ वटाको साँचो काम गर्दागर्दै खोसेर लगेका छन् । साँचो खोस्ने र तोडफोड गर्ने व्यक्तिहरुको खोजतलासको लागि जिल्ला प्रहरी कार्यलयबाट प्रहरी निरीक्षक रोहितकुमार शर्माको कमाण्डमा १० जना र सशस्त्र प्रहरी बल, नेपाल नं.१ गुल्म हे. क्वा. कञ्चनजंघा ताप्लेजुङबाट सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको कमाण्डमा ११ जनाको टोली खटिएको छ । अपर तमोर हाइड्रोपावर प्रभावित संघर्ष समितिले अस्ति साउन १० गतेसम्म काम रोक्न अल्टिमेटम दिएको थियो ।



