
अग्ला डाँडा समथर कतै बोट बेर्ना अनेक
झुल्ने गर्छन् हरित लहरा चित्तुवेली समेत
राम्रो मान्दै प्रतिदिन यहाँ जेठको यो झरीमा
डुल्ने गर्छन् भुनुनु भमरा नित्य गोदावरीमा
पल्लो टारी हरित वनमा बस्दछन् जीवजन्तु
झर्छन् झर्ना छङछङ यतै विघ्न राम्रो छ अन्तु
उस्तै राम्रा मलय कुरिलो झप्प फुल्दा चमेली
डुल्ने गर्छन् मयुर मुनियाँ कोइली छन् जुरेली
राम्रै देख्छौँ क्षितिज परको शारदी अन्तरिक्ष
वासन्तीका हरित मुहुना झ्याम्म देखिन्छ वृक्ष
चम्केकै छन् ग्रहगण, उता मेघ बस्ता समाधि
बेला फिर्दा फरक ऋतुमा नील आकाश माथि
अग्लाअग्ला हिमशिखर या मध्यवर्ती पहाड
बाह्रैमासे विविध लहरा देखिनेछन् निचाल
अग्ला होचा लहलह बुटा औषधी हुन् कहिन्छ
सर्दी गर्मी विवरण लिने याम आदेश दिन्छ
लाएका छौँ तरु तृण जतै छेउमा बाँसघारी
बस्ने गर्छौँ शहर अथवा गाउँलाई समाली
हावा पानी ऋतुमय हुँदा बस्नमा स्वच्छ राम्रो
प्यारो मान्छौँ अवनि भरमा देश नेपाल हाम्रो