झापा, साउन १८ । सीमावर्ती भद्रपुरमा प्रतिबन्धित भारतीय चिठ्ठा खुलेआम बिक्री गरिरहेको अबस्थामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ५ बस्ने ४२ वर्षीय रणजितकुमार यादव रहेका छन् । उनले भारतबाट चिठ्ठा खरिद गरी नेपालमा ल्याई बिक्री गर्दै आएका थिए । शुक्रवार बिहान १० बजे भारतीय चिठ्ठा खुलेआम बिक्री गरिरहेको अबस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चिठ्ठा खरिद गर्नेहरुको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । उनलाई पक्राउ परेकै दिन अदालतबाट पाँच दिन म्याद थप गरी अभद्र व्यवहारमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।

प्रतिबन्धित भारतीय चिठ्ठा झापाको सीमावर्ती बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ ।भारतको पश्चिम बंगाल, सिक्किम, नागाल्याण्डका प्रतिबन्धित चिठ्ठाहरु झापाको सीमावर्ती बजारहरु भद्रपुर, बिर्तामोड , धुलाबारीलगायतका ठाउँहरुमा बिक्री भइरहेको छ ।

चिठ्ठा ऐन, २०२५ को दफा २ अनुसार नेपाल सरकारले अनुमति दिएकोमा बाहेक कसैले चिठ्ठाको खरिद बिक्री गर्ने काम गर्न वा गराउन पाइदैन । ऐनविपरीत चिठ्ठाको कारोबार गरिएमा बिगो जफत भई बिगोबमोजिम जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्