झापा,साउन १९ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले किसानलाई यथाशीघ्र मलखादको व्यवस्था गर्न माग गरेका छन् ।

बैठकको शून्य समयमा सांसदहरूले मल र खादको व्यवस्था नहुँदा किसानहरू मार्कामा परिरहेको उनीहरूको भनाइ छ ।
सांसद देवप्रसाद तिमिल्सिनाले नेपाललाई कृषिप्रधान देश भनिए पनि मल नपाएर देशभरिका किसानहरू समस्यामा परेको उल्लेख गर्दै यथाशीघ्र समस्या समाधानमा जोड दिए । सांसद प्रभु हजाराले दुई दिनयता मधेसमा पानी परेसँगै किसानले धान रोप्न सुरु गरे पनि मलखाद नपाउँदा समस्यामा परिरहेको बताए ।
सांसद वासुदेव घिमिरेले मलखादको वितरण समान हुन नसक्दा अभावको सामना खेप्नु परिरहेको उल्लेख गरे । उनले अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७ लाई संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘कार्यविधि संशोधन नहुँदा सहुलियतको रासायनिक मल वितरण समन्यायिक भएको छैन, वैज्ञानिक आधार र क्षेत्रीय भौगोलिक विविधताको उचित मूल्याङ्कन नगरी मलखाद वितरण भएको छ ।’
उनले यसरी मलखाद वितरण गर्दा पहाडी क्षेत्रमा मल थन्किने र तराईमा अभाव हुने देखिएकाले तराईका किसानहरू अत्यन्त मार्कामा परिरहेको दाबी गरे ।
सांसदहरू दुर्गा राई र नारायणी शर्माले मुलुकी अपराध संहिताले पूर्णतः निषेध गरेको बहुविवाहलाई छुट दिने कानुन ल्याउन लागिएको सुनिएको उल्लेख गर्दै त्यसको विरोध गरे । सांसद राईले महिलामाथि हिंसा हुने र पुरुष छाडा हुने यो कानुन किन ल्याउन लागिएको भनेर विधेयकको घोर निन्दा र भत्र्सना गरिन् । सांसद शर्माले यो विधेयकलाई तत्काल नष्ट गर्नुपर्ने बताइन् ।
सांसद तारा लामा तामाङले शुक्लाफाँटा वन्यजन्तु आरक्षणको विस्तारको क्रममा विस्थापित भएका नागरिकको पुनस्र्थापना र व्यवस्थापनको दिगो समाधान नहुँदा समस्यामा परेको बताइन् । ‘पुनस्र्थापना र व्यवस्थापनका लागि सरकारले हालसम्म ३२ वटा अयोग गठन गर्दा पनि समस्या समाधान हुन नसक्दा विस्थापित परिवारहरू निराश छन् । शिविरहरूमा कष्टकर जीवन बिताउन बाध्य छन् । दीर्घकालीन समाधानका लागि अनुरोध गर्दछु’, उनले भनिन् ।
सांसद प्रकाश ज्वालाले पनि बहुविवाहको बाटो खोल्ने गरी कानुनमा गर्न लागेको संशोधन रोकिनुपर्ने माग गरे । उनले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने र प्रेसलाई नियन्त्रण गर्ने गरी ल्याउन लागिएको मिडिया काउन्सिल विधेयकलाई मिडियामैत्री हुनेगरी अघि बढाउन आग्रह गरे ।



