झापा, साउन १९ । बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र संग्रौला र वडाध्यक्ष अजय कार्कीबीचको व्यक्तिगत विवादलाई बढ्न नदिई राजनीतिक हिसावले समाधान गर्ने दुई दलले सहमति गरेका छन् ।


नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले ती दुई जनप्रतिनिधिबीचको विवाद मिलाउने सहमति गरेका हुन् । आज साँझ बिर्तामोडमा बसेको एमाले र राप्रपाका जिल्लास्तरीय र नगरस्तरीय नेताहरुको बैठकले दुवै जनप्रतिनिधिलाई एकै ठाउँमा राखेर विवाद मिलाउने मौखिक सहमति गरेको बैठकमा सहभागी एमालेका नगर अध्यक्ष सुवास भट्टराईले बताए । उनले दुईजनाबीचको व्यक्तिगत विवादले सिंगो नगरपालिका र राजनीतिक दललाई अप्ठ्यारोमा पार्न नहुने महसुस गरी दुई दलले मिलेर विवाद समाधान गर्ने गरी छलफल शुरु भएको जानकारी दिए । उपप्रमुख संग्रौला काठमाण्डौ गएकाले काठमाण्डौबाट फर्किएपछि दुवैजनाको उपस्थितिमा छलफल राखिने उनले जानकारी दिए ।

विवादलाई कसरी समाधान गर्न सकिन्छ भनेर बैठकमा छलफल भएको र दुवैजनालाई आ–आफ्ना कमजोरी नदोहोर्याउने गरी सहमति गराउने विषयमा छलफल भएको राप्रपाका जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले बताए । त्यस्तै राप्रपाका नगर अध्यक्ष लक्ष्मी गौतमले पनि बैठक सकारात्मक भएको प्रतिक्रिया दिए ।

बैठकमा एमालेका झापा जिल्ला अध्यक्ष प्रेम गिरी , उपसचिव अनिता कन्दङ्वा , नगर अध्यक्ष सुवास भट्टराई , उपाध्यक्ष मदन बुढाथोकी , जिल्ला पार्टी कार्यालयका सचिव छविलाल विश्वकर्मा राप्रपाका कोशी प्रदेश सचिव कुमार भट्टराई , जिल्ला अध्यक्ष केशवप्रसाद ओझा , नगर अध्यक्ष लक्ष्मी गौतमलगायत सहभागी रहेका थिए ।

विवादलाई साँघुर्याउनका लागि दुई दलको सहमतिमै राप्रपाले आज बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्रमा सामाजिक सञ्जालको गलत प्रयोगलाई संयमित बनाउन उपप्रमुखले सामाजिक सञ्जालबाटै आम विर्तामोडबासी समक्ष क्षमायाचना गर्दै आगामी दिनमा यस्ता गतिविधि नदोहोरिने प्रतिबद्धता गर्नुपर्ने , उपप्रमुख संग्रौला र वडा अध्यक्ष कार्कीलाई सहमतिमा ल्याउन कार्यपालिकाले यथासक्दो प्रयास गर्नुपर्ने , नगर कार्यपालिकाले उपप्रमुखलाई विद्युतीय कारोबार ऐनमा व्यवस्था गरिएबमोजिम सम्बन्धित निकायबाट कारवाहीको दायरामा ल्याउनुपर्ने र राप्रपा विर्तामोडले केही समयअघि बिर्तामोडबासीका आम समस्याहरूको सम्बोधन गर्दै बुझाएको २८ बुँदे ज्ञापनपत्रको उचित सम्बोधन गर्नुपर्ने माग राखिएको छ ।

बिर्तामोड –३ स्थित नवदुर्गा मन्दिर अगाडिबाट राप्रपा बिर्तामोड नगर समिति आयोजनामा राप्रपा नगर अध्यक्ष लक्ष्मी गौतमको नेतृत्वमा वडाध्यक्ष कार्की, नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताहरुको उपस्थितिमा भेला भई उपप्रमुख संग्रौलाले सामाजिक संजालको दुरुपयोग गरि वडाध्यक्ष कार्कीलाई लक्षित गर्दै फेसबुकमा नकारात्मक टिप्पणी पोष्ट गरेको बिषयलाई लिएर विभिन्न नाराहरु लगाउँदै बिरोध र्याली निकालिएको थियो । सोही र्यालीले ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्