कुमरखोद, साउन २० । झापा गाउँपालिकाको वडा नं २ कुवाडी बजारमा बोलबम कलशयात्रा सम्पन्न भएको छ ।

विश्व हिन्दु परिषद नेपाल झापा गाउँपालिका र कुमदेश्वर शिव पञ्चायन मन्दिर समितिको संयुक्त आयोजनमा कलशयात्रा निकालिएको थियो ।
झापा गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया र वडा अध्यक्ष हिमालकुमार चम्लागाई दुवैजनाले कलश उठाएर कन्यालाई हस्तान्तरण गरेपछि बोलबम कलशयात्राको शुभारम्भ भएको हो । कुवाडी बजारदेखि कलशयात्रा शुरु भएर कन्काई माई नदीको जल कलशमा भरेर कुमदेश्वर शिवलिङ्गमा जलार्पण गरेका थिए । साउनको सोमवार व्रत गरेमा मनको इच्छा पुरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास रहेको अध्यक्ष थपलियाले बताइन् ।
बोलबम कलशयात्रा समितिका अध्यक्ष तेजनारायण राजवंशीको अध्यक्षता तथा झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं २ का अध्यक्ष चम्लागाई , वडा सदस्य मोहनकुमार राजवंशी , विश्व हिन्दु परिषद नेपाल झापा गाउँपालिका अध्यक्ष ज्ञाननाथ उप्रेतीलगायत भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन राजकुमार कोचले गरेका थिए भने स्वागत मन्तव्य विश्व हिन्दु परिषद नेपाल झापा गाउँपालिकाका सचिव सूर्यबहादुर भट्टराईले गरेका थिए ।