झापा, साउन २० । चार महिनापछि कारागार मुक्त भएका बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईंले अब के गर्छन् भनेर चासो भइरहेका बेला उनले दल दर्ता गरेर वैधानिकरुपमा राजनीति गर्ने भएका छन् ।

बुलेटले भन्दा विचारले जनताको समर्थन पाउन सक्ने ठानेर अब दल खोलेर उनले राजनीति गर्ने भएका हुन् । अभियानको नाममा राजनीति गर्दा दीगो र वैधानिक नभएपछि अब दल दर्ता गरेर अघि बढ्ने विषयमा गहन छलफल भइरहेको राष्ट्र राष्ट्रियता धर्म संस्कार संस्कृति नागरिक बचाउ अभियानका केन्द्रीय प्रवक्ता माधव कल्पितले बताए । उनले अबको आन्दोलन कसरी अगाडि बढाउने भनेर छलफल हुने जानकारी दिए ।
हिजो कारागार मुक्त भएपछि प्रसाईले सामाजिक संजालमा तरिका र शैली बदलेर नागरिक र देशका लागि मन बचन र कर्मले लाग्ने बताएका थिए । प्रसाई धरौटी रकम बुझाएर डिल्लीबजार कारागारबाट गएराति रिहा भएका हुन् ।