झापा,साउन २० । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टी एकताबद्ध भएको घोषणा गर्दै जनमुखी आन्दोलनलाई सशक्त बनाउने सङ्कल्प गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चार दिनदेखि चलेको स्थायी समिति बैठकले विभिन्न निर्णय र प्रस्ताव पारित गर्दै गुटबन्दी अन्त्य भएको घोषणा पनि गरेको छ ।
बैठकपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्रको गुटबन्दी तथा समूहको अन्त्य गरी एकताबद्ध रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त भएको बताए । उनले भने, “लोकतान्त्रिक आन्दोलन र गणतन्त्रको सुदृढीकरणमा नेतृत्वदायी भूमिका खेलेको हाम्रो पार्टीलाई एकताबद्ध बनाउने चुनौती थियो । यो जिम्मेवारी पूरा गरेका छौँ ।”
उनले पार्टीले सामूहिक प्रतिबद्धतासाथ गुटबन्दी अन्त्य गरी एकताको सन्देश दिएको बताए । फेरि एक पटक जनताबिच जाने सङ्कल्प गरेको र देशमा देखिएका समस्या समाधान गर्न जनमुखी आन्दोलन तीव्र बनाउने निर्णय भएको उनको भनाइ छ । अध्यक्ष प्रचण्डले बैठकले पार्टीको आन्तरिक एकता सुदृढ गर्दै देशका समसामयिक चुनौती सम्बोधन गर्न नयाँ नीति तय गरेको बताए ।
उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकबाट पार्टीको सङ्गठनात्मक एकता र वैचारिक स्पष्टता सुनिश्चित गर्ने निर्णय गरिएको बताए । उनले विचारको स्वतन्त्रता र बहसलाई सम्मान गर्दै कार्यान्वयनमा एकरूपता आवश्यक रहेको निष्कर्ष निकालेको जानकारी दिए ।
पार्टीभित्र गुटबन्दी र स्वार्थ समूह खडा गर्नेलाई कारबाही गर्ने निर्णय भएको पनि उनले बताए । सापकोटाले भने, “पार्टी रूपान्तरणको महाअभियानमा छ । गुट उपगुट विघटन गर्ने निर्णय भएको छ । कोही निर्णयविपरीत जान्छ भने कारबाहीको दायरामा ल्याउने भनिएको छ । त्यसका लागि अनुगमन समिति बनाउने निर्णय भएको छ ।”