झापा, साउन २१ । झापाको झापा गाउँपालिकामा मादक पदार्थ सेवन गरेका व्यक्तिलाई रुखमा बाँधेर रातभरि राखेपछि मृत्यु भएको छ ।

गएराति १०.३० बजे झापा गाउँपालिका वडा न.१ लसुना बस्ने ६० वर्षीय जतन सोरेन मादक पदार्थ सेवन गरी छिमेकी महादेव टुडूको घरमा आएका थिए । घरको गल्लीमा आई काम्न थालेपछि महादेव टुडूलगायत स्थानीय व्यक्तिहरुले घर छेउमा रहेको आँपको रुखमा प्लाष्टिकको डोरीले बाँधेर राखेका थिए । आज बिहान ४ बजे हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए ।

घटनाबारे इलाका प्रहरी कार्यालय कुमरखोदमा जानकारी प्राप्त हुनासाथ टोली खटिएर घटनामा संलग्न झापा गाउँपालिका वडा न.१ लसुना बस्ने मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन, सोही ठाउँ बस्ने ५० वर्षीय महादेव टुडू, २० वर्षीय लुखिराम टुडू, २१ वर्षीय लखिराम टुडूलाई नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाएको छ ।

अन्य फरार व्यक्तिको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्