झापा, साउन २१ । झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ तुलाचन चोकस्थित हुलाकी सडकखण्डमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा तीनजना घाइते भएका छन् ।

आज दिउँसो ४;३० बजे हुलाकी सडकखण्डमा कुन्जीबारीबाट गौरीगञ्जतर्फ आउँदै गरेको प्र१–०२–०४२ प ३८३७ न.को मोटरसाइकल र बिपरीत दिशातर्फ जाँदै गरेको प्र१–०१–०१७ प२६९२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा प्र१–०१–०१७ प २६९२ न.को मोटरसाइकल चालक मोरङ रंगेली नगरपालिका घर बताउने २७ वर्षीय राजकुमार खत्वे, सोही मोटरसाइकलमा पछाडी सवार गौरीगञ्ज ३ बस्ने ५५ वर्षीया निरु खत्वे र प्र १–०२–०४२ प ३८३७ नं को मोटरसाइकलका चालक मोरङ रतुवा नगरपालिका ५ बस्ने रमेश मैनाली घाइते भएका हुन् ।
तीनै जनालाई निम्न अस्पताल दमक पठाएकोमा त्यहाँबाट थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । दुवै मोटरसाइकल प्रहरी चौकी कोरोबारीको नियन्त्रणमा रहेको छ ।



