झापा, साउन २२ । बिर्तामोडमा १ लाख १४ हजारभन्दा बढी रकमसहित ८ जना जुवाडे पक्राउ परेका छन् ।

हिजो साँझ ७ बजे बिर्तामोड नगरपालिका वडा नं. ५ स्थित बिर्तामोड बसपार्क छिर्ने बाटोको ट्राफिक बिट छेउमा सरोज श्रेष्ठको घरमा गोपाल श्रेष्ठले संचालन गरेको चियानास्ता पसलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले ६ बुङ नखोलिएको तास , ६ बुङ खोलिएको तास र १ लाख १४ हजार ५५५ रुपैयाँसहित ८ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा इलाम नगरपालिका वडा नं.९ गोलाखर्क घर भई हाल बिर्तामोड ५ धिमाल चोक बस्ने ३८ वर्षीय तिर्थराज तामाङ ,इलाम देउमाई वडा नं. १ बरबोटे घर भई हाल अर्जुनधारा वडा नं. ११ बसपार्क बस्ने ३२ वर्षीय कुशल गुरुङ, ताप्लेजुङ पाथिभरा याङबरक वडा नं. २ थेचम्बु घर भई बिर्तामोड वडा नं. ६ स्यालडाँगी बस्ने ४२ वर्षीय भुपालकुमार कटुवाल, पाँचथर हिलिहाङ वडा नं ८ भारपा घर भई हाल बिर्तामोड वडा नं. ५ किराँत चोक बस्ने २९ वर्षीय मनकुमार कटुवाल, पाँचथर फिदिम वडा नं. ४ थापाटार घर भई हाल बिर्तामोड वडा नं. ५ सगरमाथा टोल बस्ने ४९ वर्षीय हेमबहादुर थापा , झापा धरमपुर घर भई हाल बिर्तामोड वडा नं. ५ बसपार्क बस्ने ५१ वर्षीय गोपाल श्रेष्ठ ,पाँचथर लालीखर्क घर भई हाल बिर्तामोड ६ बुट्टाबारी बस्ने ३५ वर्षीय सुजन श्रेष्ठ र पाँचथर हिलिहाङ वडा नं. ७ घर भई हाल बिर्तामोड वडा नं. ५ बसपार्क बस्ने ३५ वर्षीय ध्रुव श्रेष्ठ रहेका छन् । ती सबैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।