झापा, साउन २२ । झापाको कन्काई नगरपालिका– ३ सुरुङ्गामा आज बिहान ग्यास लिक भएर आगलागी भएको छ ।

आगलागीबाट दुई लाख बराबरको धनमाल क्षति भएको छ भने ८१ वर्षीया एक वृद्धा घाइते भएकी छन् । बिहान अन्दाजी ७ः१५ बजे ताप्लेजुङ घर भई हाल कन्काई वडा नम्बर ३ सुरुङ्गा बस्ने ध्रुव श्रेष्ठको तीनतले घरको दोस्रो तलामा एउटा कोठामा डेरा गरी बस्ने ८१ वर्षीया बाटुलीमाया दाहालले खाना पकाउने क्रममा अचानक ग्यास सिलिण्डर लिक भई आगलागी भएको हो ।

आगलागीबाट उनको शरीरको बिभिन्न भाग डढेको छ । उनलाई कनकाई नगर अस्पताल सुरुङ्गामा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । उनको अवस्था गम्भीर रहेको छ ।

उक्त कोठामा आगलागी हुँदा कोठाभित्र रहेका दुईवटा लो–बेड, एउटा काठ दराज, किचन र्याक, लताकपडा, अन्नपातलगायत अन्य सरसामान जलेर पूर्णरुपमा नष्ट हुँदा अन्दाजी २ लाख बराबरको क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायव निरीक्षक सुबास ढुंगानाको कमाण्डमा टोली खटिएर स्थानीय र दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्