झापा, साउन २२ । बिर्तामोडको दुईवटा गोदाममा ठूलो परिमाणमा प्रतिबन्धित औषधिजन्य लागूऔषध फेला परेको एक महिना नबित्दै झापाको कमलमा पनि ठूलो मात्रामा औषधिजन्य लागूऔषध बरामद भएको छ ।

राजनीतिक शक्तिको आडमा त्यहाँ पनि लागूऔषधको डिलर चलाएको पुष्टि भएको छ । गएराति ९ बजे कमल गाउँपालिका वडा नं ६ काटाचोक बस्ने बिष्णुप्रसाद बगालेको घरमा लागूऔषध लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त घर तलासी लिने क्रममा ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ३००० , डिसाइक्लोमिन हाइड्रोक्लोराइड ट्याब्लेट २११० र स्पास्पेन २०५० ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ती लागूऔषधसहित घरधनी बगाले र दमक वडा नं.६ थानारोड बस्ने दमक मेडिकल डिस्ट्रिब्युटरका संचालक ४० वर्षीय गंगाबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बगालेको घरको दोस्रो तलाको कोठामा ती प्रतिबन्धित औषधिहरु लुकाएर राखेको थियो । दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भइरहेको छ । घटनामा संलग्न खड्काले आफूहरुको बिर्तामोडमा समेत प्रतिबन्धित औषधिजन्य लागूऔषधको कारोबार हुने गरेको बताएको प्रहरीले जनाएको छ । त्यस स्थानको पहिचान गर्नको लागि लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको टोलीले इलाका प्रहरी कार्यालय बिर्तामोडसँग समन्वय गर्ने गरी खड्कालाई लिएर गएको जनाइएको छ । पक्राउ परेका बगाले दमकका एक वडाध्यक्ष र संघीय मन्त्रीका आफन्त भएको बुझिएको छ ।

यसअघि गत साउन १ गते राजनीतिक शक्तिको आडमा अवैध धन्दा गर्दै आएका बिर्तामोडका भानुभक्त खरेलको गोदाममा छापा मारी प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित औषधिजन्य लागूऔषध बरामद गरेको थियो । नेकपा एमालेका नगर कमिटी बिर्तामोडका सदस्य तथा पार्टीनिकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ झापाका उपाध्यक्ष रहेका खरेल अझै फरार छन् । राजनीतिक शक्तिको आडमा खरेलसंग मिलेर बगाले र खड्काले प्रतिबन्धित औषधिजन्य लागूऔषधको कारोबार गरिरहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्