झापा,साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार महिला पत्रकारको क्षमता अभिवृद्धि गर्न र पत्रकारितामा महिलालाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताएका छन् ।


सञ्चारिका समूहका केन्द्रीय तथा प्रदेशका पदाधिकारीले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आफ्नो स्रोतसाधनले भ्याएसम्म महिला पत्रकारको हितमा काम गर्ने बताए । प्रदेश सरकारले कानुन ल्याएर बनाउन लागेको पत्रकारिता प्रतिष्ठानमार्फत पनि पत्रकारको हितमा काम गर्ने सोचाइ अगाडि राखेको उनले स्पष्ट पारे ।
लैङ्गिकमैत्री कानुन बनाउन र महिलालाई सञ्चार क्षेत्रमा प्राथमिकता दिएर काम गर्न आफ्नातर्फबाट सक्दो पहल हुने बताउँदै उनले प्रदेश सरकार सञ्चारिका समूहलाई सहयोग गर्न तयार रहेको स्पष्ट पारे । सञ्चारिका समूहकी महासचिव राधा खनालले महिला पत्रकारका विविध समस्या समेटेर ज्ञापनपत्र बुझाएकी थिइन् ।
यसैगरी मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षकको सेवासुविधा र शैक्षिक क्षेत्रको विषय समेटेर छुट्टाछुट्टै ऐन बनाउन सकियो भने मात्रै शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने बताए । कक्षा १२ को नतिजा सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हन् ।
मुख्यमन्त्री कार्कीले भने, “परीक्षाफल मात्रै शैक्षिक गुणस्तरको मापन होइन तर शिक्षा प्रणालीको समग्र अवस्थामाथि पुनर्विचार गर्न आवश्यक भएको छ ।” उनले शैक्षिक गुणस्तर कसरी सुधार गर्ने भन्ने विषयमा सार्वजनिक छलफल अत्यन्तै कम भएको बताउँदै छलफललाई व्यापक बनाउनुपर्ने उल्लेख गरे । गुणस्तरभन्दा पनि सेवासुविधामा बढी छलफल भएकाले सेवासुविधा र शैक्षिक क्षेत्रका विषयलाई टुङ्ग्याउनका लागि ऐनमा सुधार आवश्यक भएको औँल्याए । अहिले प्रतिनिधि सभामा शिक्षा विधेयक विचाराधीन अवस्थामा छ तर विद्यालय शिक्षाको सुधार र नीतिगत बहसभन्दा पनि शिक्षकको सेवासुविधा र व्यवस्थापनसँग सम्बन्धित विषय प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्